
मेचीनगर । पहिरोको जोखिममा रहेको काँकरभिट्टाका केही घरहरुको मेचीनगर नगरपालिका, जिल्ला प्रसाशन कार्यालय र सुरक्षाकर्मीहरुको टोलीले आज स्थलगत निरीक्षण गरेका छन् ।
मेचीनगर–६, काँकरभिट्टा सूर्योदय मार्ग पूर्वपटिको मेची टोलका ३५ घर पहिरोको जोखिममा रहेका छन् । ३५ घरमध्ये पहिरोको उच्च जोखिममा रहेका ११ वटा घरको निरीक्षण गरिएको हो ।
मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकी, निवर्तमान नगरप्रमुख विमल आचार्य, उपप्रमुख मीना पोखरेल उप्रेती, झापाका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारी, जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी राजन लिम्बू, सशस्त्र प्रहरी बल नेपाल नं. २ गण हेडक्वाटर झापाका प्रमुख एसपी तुलबहादुर भण्डारी, ६ नं. वडाध्यक्ष ललितबहादुर तामाङ लगायत जनप्रतिनिधिहरुले निरीक्षण गर्नुभएको हो ।
नगरप्रमुख बुढाथोकीले जोखिममा रहेका सबै घरहरुका विषयमा प्रमुख जिल्ला अधिकारी, नगरपालिका, राजनीतिक दल लगायत सर्वदलीय वैठक बसेर निर्णय गरिने बताउनु भएको छ ।
उच्च जोखिममा रहेका घरका जनतालाई जतिबेला पनि पहिरो आएर घर भत्कने भएकाले तत्काल विकल्पका रुपमा सुरक्षित आवास व्यवस्था गरिने जानकारी गराएको नगरप्रमुख बुढाथोकीको भनाई छ ।