२०८२ साउन २२, बिहिवार , ०४:३२:२६ बजे

Sajhamanch
'

शिवसताक्षीमा क्वाँटी खानेसहित लाखेनाच साँस्कृतिक कार्यक्रम हुँदै

बिहिवार, साउन २२, २०८२

शिवसताक्षी । झापाको शिवसताक्षीमा नेवा समुदायले क्वाँटी खाने तथा लाखे नाच साँस्कृतिक कार्यक्रम गर्ने भएको छ । नेवार राष्ट्रिय संगठन शिवसताक्षी नगर समितिले आगामी साउन २४ गते लाखेनाच तथा क्वाँटी खाने कार्यक्रमको आयोजना गर्न लागेको जनाएको हो ।

लाखे नाचसहित विभिन्न साँस्कृतिक कार्यक्रम शिवसताक्षीको फूलबारी खेल मैदानमा हुने छ । समुदायलाई एकतामा बाँध्न साँस्कृतिक कार्यक्रमहरुले ठूलो भूमिका खेल्ने भएकाले पनि यस कार्यक्रमको आयोजना गरिएको नेवार राष्ट्रिय संगठन शिवसताक्षी नगर समितिका सचिव सचिन श्रेष्ठले बताउनु भयो ।

उहाँले क्वाँटी खाने तथा लाखेनाच साँस्कृतिक कार्यक्रम २०८२ लाई सफल बनाउन संस्कृतिप्रेमी, विभिन्न संघ संस्था, स्थानीयबासी, देश विदेशमा रहनु हुने दाजु भाइलाई सहयोगको अपेक्षा गरिएको जानकारी दिनुभयो ।

कार्यक्रमबाट संकलित रकमले सस्थाको साँस्कृतिक कोष निर्माण गर्ने, स्थानीय संस्कृति प्रेमीहरुलाई योगदानका आधारमा सम्मान गर्ने, विपद व्यवस्थापन कोष स्थापना गर्ने र शिवसताक्षी नगरभित्र रहेको धार्मिक तथा पर्यटकीय क्षेत्रहरुको प्रचार प्रसार गर्ने उद्देश्य रहेको नेवार राष्ट्रिय संगठन शिवसताक्षी नगर समितिले जनाएको छ ।

कार्यक्रममा नेवाः समुदायको भेषभुषा, सांस्कृतिक पहिचान लगायत सबै जात जातिका संस्कृतिहरुलाई समेट्दै साझा कार्यक्रम गर्ने उद्देश्य रहको नेवार राष्ट्रिय संगठन शिवसताक्षी नगर समितिका अध्यक्ष प्रदिउन श्रेष्ठले बताउनु भयो ।

कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारहरुबाट प्रस्तुति रहने छ । कार्यक्रम स्थलमा खानेपानी र खाजाको रुपमा क्वाँटीको व्यवस्था मिलाइने छ । कार्यक्रम सफल बनाउन प्रयोजन गर्ने संघसंस्था वा व्यक्तिलाई सम्मान गरिनेसमेत आयोजक संस्थाले जनाएको छ ।

कार्यक्रम सफल बनाउन ३ लाख ५० हजार खर्चको अनुमान गरिएको कोषाध्यक्ष चन्द्र प्रधानले जानकारी दिनुभयो । उहाँका अनुसार शिवसताक्षी नगरपालिका र स्थानीयबासी, विभिन्न संघ संस्थाबाट सहयोगको अपेक्षा गरिएको छ ।

२०८१ सालमा स्थापना भएको नेवार राष्ट्रिय संगठन शिवसताक्षी नगर समितिले विभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।

सम्बन्धित खबर