२०८२ साउन २०, मङ्गलवार , ०८:३१:०८ बजे

Sajhamanch
'

शिवसताक्षीको शिवगञ्जमा भदौ १ गते बृहत रथयात्रा गरिने

मङ्गलवार, साउन २०, २०८२

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकामा आगामी भदौ १ गते बृहत रथ यात्रा गरिने भएको छ । शिवसताक्षी नगरपालिका ६, शिवगञ्जस्थित सनातन धर्म सम्वर्धन संस्थाको आयोजनामा राधाकृष्णको रथयात्रा गरिने भएको हो । संस्थाले मङ्गलबार पत्रकार सम्मेलन गरेर आगामी भाद्र १ गते दिनको १ बजे रथयात्रा गर्न तयारी सुरु गरिएको जानकारी दिएको छ ।

संस्थाका अध्यक्ष माधव अधिकारीले सनातन धर्म, संस्कृति र संस्कारको प्रवर्धन गर्दै भक्तिभाव जगाउने उद्देश्यले रथ यात्राको आयोजना गरिएको पत्रकार सम्मेलनमा बताउनु भयो ।

राधाकृष्णको रथयात्राले धार्मिक चेतना फैलाउने र सामाजिक सद्भाव बलियो बनाउने, पर्यटन प्रवर्धनमा पनि टेवा पुग्ने अपेक्षा गरिएको छ । अध्यक्ष अधिकारीले भन्नुभयो, यसपटक १५ हजार भन्दा धेरै भक्तजनहरुलाई रथयात्रामा सहभागी गराउने उद्देश्य रहेको छ ।

रथमा राधाकृष्णको मूर्ति राखी शिवगञ्जबाट भेलामुनी, कटुवालचौक, जनताचोक, हल्दारचोक, पाथीभरा मन्दिर, दुर्गामन्दिर, शिवालय लगायत प्रमुख मार्गहरू हुँदै परिक्रमा गरिनेछ । सो अवसरमा भजन–कीर्तन, संस्कृत मन्त्रोच्चारण, पूजाआजा लगायतका विविध धार्मिक कार्यक्रम पनि समावेश गराइने छ ।

श्रावण ३१ गते बेलुकी गंगा आरती, भजन कीर्तन लगायतका कार्यक्रमहरु हुने आयोजकले जनाएको छ । कार्यक्रमका लागि शिवसताक्षी नगरपालिका, वडा कार्यालय र विभिन्न धार्मिक व्यक्तित्वहरुको सहयोग रहने अध्यक्ष अधिकारीको भनाई छ ।

रथयात्रा सफल बनाउन जस्तोसुकै परिस्थिति रहेर वडाले सहयोग गर्ने वडध्यक्ष मनोज खुलालले बताउनु भयो । उहाँले शिवगञ्ज बजारमा यस्तो कार्यक्रमको आयोजना गर्नु गौरवको कुरा भएकाले धार्मिक व्यक्तित्वहरु लगायत वडाबासीहरुलाई रथयात्रामा सहभागी हुन पत्रकार सम्मेलनमार्फत नै आव्हान समेत गर्नुभयो ।

त्यस्तै कार्यक्रममा वडाध्यक्ष सिकिन पासवानले धार्मिक हिसाबले पनि आफ्नो ठाउँलाई विकास गर्न सकिन्छ भन्ने उद्देश्यले कार्यक्रम व्यवस्थित हुने जानकारी दिनुभयो । यो कुनै धर्म र जाति विशेषलाई इंगित नगरी झापा जिल्लाको उत्कृष्ट रथयात्राको रुपमा स्थापित गर्न सबैले सहयोग गर्न उहाँको आग्रह छ ।

आयोजकले रथयात्राको तयारी भव्य र शालीन ढंगले सम्पन्न गर्न स्थानीयबासी, संघ–संस्था र युवा समूहसँग सहकार्य भइरहेको जनाएको छ । स्थानीयस्तरमा यस प्रकारको धार्मिक यात्रा दोस्रोपटक हुन लागेकोले सबै नागरिकलाई सहभागिता जनाउन आयोजकको आग्रह छ ।

रथयात्रा सनातन धर्मको मूल मर्म अनुसार श्रद्धा, सेवा र समर्पण भावले सम्पन्न गरिने आयोजकको तयारी छ ।

सम्बन्धित खबर