२०८२ साउन १६, शुक्रवार , ०८:१८:४० बजे

Sajhamanch
'

शिवसताक्षी ६ नं. वडाले घरमा नै मृत्यु दर्ता प्रमाणपत्र पुर्याउन थाल्यो

शुक्रवार, साउन १६, २०८२

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिका वडा नं. ६ ले वडाका नागरिकको मृत्यु भएमा राहत रकमसहित मृत्यु दर्ता प्रमाणपत्र घरमै पुर्याउन सुरु गरेको छ ।

वडाका नागरिकहरुको घरमा भएको दुःखद घटनाका कारण विक्षिप्त अवस्थामा रहँदा समय अवधि भित्र कतिपय परिवारले मृत्यु दर्ता नगरेको, कतिपयले समय नाघि सकेपछि मात्र घटना दर्ता गर्न आएकाले वडाले मृत्यु दर्ता प्रमाणपत्र घरमै पुरयाउन सुरु गरेको हो ।

आज शिवसताक्षी ६ का दधिराम दमाईको घरमा वडाका सबै जनप्रतिनिधिहरु राहत रकमसहित मृत्यु दर्ता प्रमाण पत्र लिएर पुग्नु भएको थियो । दधिराम दमाईकी श्रीमती माया दमाईको २०८२ श्रावण ८ गते मृत्यु भएको थियो ।

आज नवौ पुण्य तिथिका दिन वडा कार्यालयले समवेदना पत्र, राहत रकम र मृत्यु दर्ता प्रमाणपत्र परिवारलाई हस्तान्तरण गरेको हो ।

सानो काम भएपनि यहाँका नागरिकहरुलाई दुःख परेका बेला सहज रुपमा आफ्नो दायित्व निर्वाह गरेको वडाध्यक्ष मनोज खुलाल कार्कीले बताउनु भयो । उहाँले भन्नुभयो, ‘हामीले जे जति कार्यक्रमहरु ल्यायौं, ती सबै जनमुखी नै छन् । वडाले स्वास्थ्य बीमा, पशु बीमा, दुर्घटना बीमाजस्ता कार्यक्रमहरु पहिले सुरु गरेको र पछि अरु वडाहरुले पछि अनुशरण गरेका हुन् ।’

वडाले आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममा राखेर नयाँ कामको थालनी गरेको वडा सदस्य गोमा रिजालले बताउनु भयो । वडाले नागरिकको मृत्यु भएमा ४ हजार ५०० राहत रकम प्रदान गर्दै आएको छ ।

कार्यक्रममा वडा सदस्य गीता दर्जी, नरेन्द्र बस्नेत, गंगा ताजुरिया र वडा सचिव सन्तोष रिमाल लगायत सहभागी हुनुहुन्थ्यो ।

सम्बन्धित खबर