२०८२ साउन १३, मङ्गलवार , ११:३९:१८ बजे

Sajhamanch
'

ज्यामिरगढीमा हराएका सांसद र नगरप्रमुख भेटिए पनि पूल निर्माणको भुक्तानी गर्न सकस

मङ्गलवार, साउन १३, २०८२
  • अर्जुन कार्की

मेचीनगर । निर्माण सुरुभएको लामो अवधि पछि ज्यामिरगढीमा ‘झोलुङ्गे पूल’ को निर्माण कार्य सम्पन्न भए पनि ठेकेदारलाई रकम भुक्तानी गर्न नगरपालिकालाई सकस भएको छ ।

मेचीनगर–१५ स्थित ज्यामिरगढी क्षेत्रको ‘झोलुङ्गे पूल’ २०७९ असारमा निर्माण कार्य सुरु भएको थियो । निर्माण कार्य स्थगित हुँदै सुरु गरिएको पूल अहिले प्रयोग गर्न तयारी अवस्थामा छ । पूलको प्राविधिक बाहेक सबै काम सकिएको छ । अब ‘झोलुङ्गे पूल’ उद्घाटनको संघारमा पनि छ ।

साविकको ज्यामिरगढी गाविस हाल मेचीनगर ७ र १५ नम्बर वडाभित्र पर्दछ । जसको मध्यभागमा निन्दा खोला छ । वडा नम्बर १५ को भूगोल क्षेत्र साविक गाविसको ठूलो भाग समेटिएको छ ।

निन्दा खोला वारीपारी गर्न कुनै पूल थिएन । विगतमा चौधरी चौक पूर्व निन्दा खोलामा मोटरेवल पूल बनाउन सर्भे भएर पनि योजनामा समावेश हुन सकेको थिएन । झोलुङ्के पूल बनाए पछि वडा नम्बर १५ को बिचार्नी बजार र हेल्दुबारी गाउँलाई जोड्न पनि सहज भएको छ ।

‘झोलुङ्गे पूल’का लागि नगरपालिका र सांसदहरुले संयुक्त प्रयास गरेसँगै योजनामा समावेश भएको थियो । आर्थिक वर्ष २०७८/०७९ मा समावेश भएको योजना २०७८ माघमा ठेक्का आह्वान गरिएको थियो ।

तत्कालिन नगरप्रमुख विमल आचार्यको कार्यकालमा बजेटको स्रोत सुनिश्चित नगरी ठेक्का आह्वान गरिएको थियो । २०७९ बैशाखमा दोस्रो कार्यकालका लागि स्थानीय तहको चुनाव भयो । चुनावमा निर्वाचित भएपछि नगरप्रमुखको पदभार गोपालचन्द्र बुढाथोकीले २०७९ जेठ १२ गते सम्हाल्नु भयो ।

नगरप्रमुख बुढाथोकी आएपछि झोलुङ्गे पूल निर्माणका लागि मेचीनगर नगरपालिका र थानी निर्माण सेवा प्रालि काठमाडौँबीच २०७९ असार ३० गते सम्झौता भएको थियो ।

२०८१ पुस २७ गते निर्माण सम्पन्न गरिसक्नु पर्ने गरी सम्झौता गरिए पनि बजेट अभाव भएपछि फेरि म्याद थप गरेर २०८२ पुस २७ गते सम्मलाई ठेक्का सम्झौता थप गरिएको थियो ।

क्रमागत रुपमा संघीय सरकारले बजेट पठाउला भन्ने आशले तीन वर्षमा निर्माण सक्ने गरी ठेक्का लगाइएको नगरपालिकाका इन्जिनियर जीवन भट्टराई बताउनु हुन्छ ।

मेचीनगर नगरपालिकाले ठेक्का लगाएको पूलको संघीय सरकारबाट बजेट नआएपछि अधुरो रहेको थियो ।
नगरपालिकाले सुरुमा भुक्तानी गरेको रकम बाहेक निर्माण व्यवसायी (ठेकेदार)ले नै आफ्नै रिक्समा पैसा हालेर अहिले पूल निर्माण पूरा भएको हो ।

थानी निर्माण सेवा प्रालिका प्राविधिक इन्जिनियर शेखर रायमाझीले चार करोड ३८ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको बताउनु भयो ।

ठेकेदारलाई सुरुमा नगरपालिकाबाट ७४ लाख रुपैयाँ भुक्तानी भएको थियो । नगरपालिकाले अहिलेसम्म सशर्त अनुदान शिर्षक अन्तरगत एक करोड १० लाख रुपैयाँ भुक्तानी गरिसकेको जनाइएको छ ।

‘पैसा आउँछ, आउँदैन थाहा छैन । तर, पूलको काम सकेका छौँ । नगरपालिकालाई भुक्तानीका लागि निवेदन दिएका छौँ र ताकेता पनि गरिरहेका छौँ’ प्राविधिक इन्जिनियर शेखर रायमाझीले सुनाउनु भयो ।

उहाँका अनुसार प्रालिले आर्थिक वर्ष २०८१/८२ मा पाँचवटा ठेक्कामा यो पूलको ठेक्का पनि सम्पन्न गरिसक्नु पर्ने बाध्यता थियो । त्यसैले पनि जोखिम मोलेर काम सकेको हो ।

ठेकेदारको लगानी भएको पैसाको बजेट सुनिश्चिताका लागि पनि नगरपालिकाले प्राविधिक रुपमा प्रक्रिया पूरा गरिदिएको इन्जिनियर भट्टराईले जानकारी दिनुभयो ।

‘नगरपालिकाले ठेक्का लगाएकोले बाँकी रकम भुक्तानी गर्नुपर्ने दायित्व छ’ नगरप्रमुख बुढाथोकीले भन्नुभयो, ‘ठेकेदारले भुक्तानीका लागि निवेदन पेश गरेको छ । यो आर्थिक वर्षमा शहरी विकास मन्त्रालयले विनियोजित गरेको भनिएको रकम उक्त मन्त्रालय मातहत स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय इटहरीले भुक्तानी गर्न नसक्ने भनेको छ ।’

पूल निर्माणमा स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय इटहरीको प्राविधिक सहयोग मात्र रहेको उहाँको भनाई छ ।

आधुनिक शैलीको उक्त झोलुङ्के पूलको लम्बाई ३५० मिटर, मल्टिस्पाम एनटाइप, ब्याकस्टेड सन्सपेन्सन र एक दशमलव ५ मिटर वक–वे चौडाईको रहेको छ ।

नगरपालिका मार्फत ठेक्का लगाइएको उक्त पूलको शिलान्यास चुनावमा निर्वाचित हुने वित्तिकै प्रतिनिधि सभाका सदस्य विश्वप्रकाश शर्मा र कोशी प्रदेश सभाका सदस्य गोपाल तामाङले २०७९ मंसीर १० गते गर्नुभएको थियो ।

नेपाली कांग्रेसका महामन्त्रीसमेत रहनुभएका सांसद शर्माले केही दिनअघि पनि झोलुङ्गे पूलमा लठ्ठा तानेर श्रमदानसमेत गरेको भिडियो सार्वजनिक भएको थियो ।

‘नगरपालिकाले ठेक्का लगाएपछि बजेट सुनिश्चिताका लागि संघीय सरकारलाई धेरै पटक घच्घचाएँ’ नगरप्रमुख बुढाथोकीले भन्नुभयो ‘सम्बन्धित मन्त्रालयमा पत्राचार गरियो । बजेट ल्याउन कोशिस पनि गरियो । बजेट नआएकै कारण पूल निर्माणमा ढिलासुस्ती भयो । ठेकेदारले रिक्समा बाँकी पैसा हालेर काम सम्पन्न गरेको छ । भर्खरै पनि काठमाडौँ गएर सम्बन्धित मन्त्रालयका अधिकारीहरुसँग उक्त पूलका लागि बजेट माग गरेका छौँ ।’

एक वर्षअघि ज्यामिरगढीका युवाले ठेकेदारले पूलको निर्माण कार्य अधुरो पारेर छाडेको भन्दै विरोध गरेका थिए । उनीहरुले ज्यामिरगढीमा सांसद् शर्मा र नगरप्रमुख बुढाथोको हराएको सूचना व्यानर र पम्लेट बनाएर विरोध स्वरुप व्यापक प्रचार प्रसार गरेका थिए । उक्त विरोधकै प्रतिफलस्वरुप सांसद र नगरप्रमुखको पहलमा झोलुङ्के पूल त निर्माण भयो तर ठेकेदारले भुक्तानी नपाउँदा सञ्चालन हुने हो वा होइन ! टुङ्गोमा पुग्न नसकिएको बताइन्छ ।

सम्बन्धित खबर