
मेचीनगर। वडा नम्बर १ का भूमिका गुरागाईले छोरा जन्मिएदेखि हातखुट्टा नचल्ने, बोल्न नसक्ने भएकाले सत्र वर्षदेखि ओछ्यानमा नै खुवाइदिनु पर्छ, ओछ्यानमा दिशापिसाव गर्छ । काहिँ लादा बोक्नु पथ्र्यो । आज मेचीनगरले सीपी ह्वीलचियर दिएपछि धेरै राहत महसुस भएको बताउनु भएको छ।
१७ वर्षीय छोरा राहुल गुरागाई जन्मजात अपांगता भएको कारण ओछ्यानमा नै दिशापिसाव गर्छ । हातखुट्टा चल्दैन । हिड्डुल गर्न सक्दैनन् । बोल्न सक्दैनन् । अहिलेसम्म घरपरिवारले रेखदेख र स्यारसुसार गरिरहेको उनका बुबा भूमिकाले बताउनु भयो ।
‘१७ वर्षदेखि छोरा राहुललाई बोकिरहेको छु’, बुबा भूमिकाले गुरागाईले भन्नुभयो–‘सोमबार नगरपालिकाले समातेर हिड्न सक्ने सामग्री दिएपछि मैलै ठुलो सास फेरेको महसुस गरेको छु । छोरालाई यति भएपछि परिवारलाई केहि राहत भयो । घरमा एक्लै छाडेर हिड्न पनि गारो । अब भारी बोक्नु परेन । सँगै हिडाउन सजिलो भएको छ ।’
यी त एउटा प्रतिनिधि पात्र मात्र भए । उनी जस्ता २०५ जना अपांगता भएका व्यक्तिहरुले आज विभिन आवश्कता पर्ने सहायक सामग्री पाएका छन् । अपांगता भएका व्यक्तिहरुसँगै आएका उनीहरुका परिवार खुशी देखिन्थे ।नगरपालिकाले नागरिकको अभिभावक भएको भूमिका पूरा गरेकोमा वडा नम्बर १ का गुरागाईले प्रशंसा गरेका थिए ।
अपाङ्गगता भएका व्यक्तिहरुलाई सहायक सामग्रीका रुपमा २८ पिस एक्जुलरी क्रचेज (बैशाखी), ५० वटा वाकिङ स्टिक, २० वटा वाकिङ फ्रेम, १८ वटा ह्वीलचियर, ४ वटा सीपी ह्वीलचियर, १५ वटा टोइलेट चियर, २५ वटा वाइट केन, २५ वटा हियरिङ ऐड (कानको मेसिन), १० वटा एयर मेटरेस एउटा एलएस बेल्ट, ८ वटा एल स्टिक र एउटा ट्रिपड स्टिक वितरण गरिएको करुणा फाउण्डेशन नेपालका मेचीनगर संयोजक पदमबहादुर बराइलीले जानकारी दिनुभयो ।
एउटा सीपी ह्वीलचियरको एक लाख ५ हजार पर्ने बताइएको छ । बीस लाख ४२ हजार रुपैयाँ बराबरको उक्त सहायक सामग्रीहरु वितरण गरिएको उहाँको भनाई छ ।
कोशी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय, मेचीनगर नगरपालिका र करुणा फाउण्डेशनको साझेदारीमा सञ्चालित अपाङ्गता रोकथाम कार्यक्रम अन्तर्गत उक्त सामग्री वितरण गरिएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाको सभाहलमा महिला, बालबालिका तथा समाज कल्याण शाखाले आयोजना गरेको कार्यक्रममा नगरप्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना पोखरेल उप्रेतीले राहुल गुरागाईलाई सीपी ह्वीलचियर दिएर उद्घाटन गर्नु भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख बुढाथोकीले यस्ता सहायक साम्रगीले अपाङ्गता भएका व्यक्तिहरुका लागि जीवनयापन सरल बन्ने बताउनु भयो ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारी, शिक्षा शाखा प्रमुख होमनाथ भण्डारी, प्रशासन, योजना तथा अनुगमन शाखा प्रमुख अनन्तप्रकाश वस्ती लगायतलको उपस्थिति रहेको थियो ।
उपप्रमुख उप्रेतीको अध्यक्षतामा सम्पन्न सहायक सामग्री वितरण कार्यक्रमको सहजीकरण महिला, बालबालिका तथा समाज कल्याण शाखा प्रमुख जयन्ती खरेलले गर्नु भएको थियो ।