
बिर्तामोड । झापाको बिर्तामोडमा झापा साइक्लिङ क्लब गठन भएको छ । बिर्तामोडमा भएको साइकल राइडरहरुको भेलाले क्लबको गठन गरेको हो ।
क्लबको अध्यक्षमा आकाश श्रेष्ठ चयन हुनु भएको छ । त्यस्तै, समितिको उपाध्यक्षमा प्रज्ज्वल बिमली, सचिवमा हिमाल खरेल, सहसचिवमा पूर्णबहादुर गौली र कोषाध्यक्षमा मलिना शाक्य रहेको नवगठित क्लबका सचिव खरेलले जानकारी दिनुभयो ।
१३ सदस्यीय तदर्थ समितिको सदस्यहरुमा शिरीष रिमाल, संगीता दनुवार, प्रविन शाक्य, नारदप्रसाद रिजाल, कमल खतिवडा, नवराज गणेश, शरद जोशी र निर्मल भट्टराई रहेका खरेलले बताउनु भयो ।
झापामा छ वर्ष अघिदेखि साइकलसँग सम्बन्धित गतिविधि हुँदै आए पनि विधिवत रुपमा संस्था गठन भएको थिएन ।
अध्यक्ष श्रेष्ठकै अगुवाईमा सन् २०२० देखि बिर्तामोडमा झापा कोरा च्यालेन्ज हुँदै आएको छ । साथै, साइकल र साइकल पर्यटनका कामहरु भइरहेका छन् ।
नवगठित समितिले चाँडै नै झापामा साइक्लिङको प्रवर्धन गर्नुका साथै साइकलसँग जोडिएर पर्यटनका क्रियाकलापहरु गर्ने योजना बनाएको सचिव खरेलको भनाई छ ।