
झापा । प्रेस सेन्टर नेपाल झापा समन्वय समितिले जनपक्षीय पत्रकार देवकुमार आचार्यको स्मृतिमा स्थापना गरेको डि. कौडिन्य स्मृति पत्रकारिता पुरस्कार उद्दव पुरीलाई प्रदान गरिएको छ ।
प्रेस सेन्टर नेपालले बुधबार बिर्तामोडमा आयोजना गरेको डि. कौडिन्य स्मृति पत्रकारिता पुरस्कार वितरण समारोहका बीच दुई दशकदेखि कृयाशील पत्रकार पुरीलाई पुरस्कार हस्तान्तरण गरिएको हो । पुरी शब्दपत्र डटकमका प्रकाशक सम्पादक हुन् ।
कार्यक्रमका प्रमुख अतिथि माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् झापा जिल्ला इन्चार्ज रन्जित तामाङले ४२ हजार रुपैयाँसहित सम्मान पत्र प्रदान गरेर पुरीलाई पुरस्कृत गरेका हुन् ।
प्रेस सेन्टर नेपालका पूर्व अध्यक्ष तारामणि साप्कोटाले एक दशक अघि पाँच हजार रुपैयाँ राशीबाट सुरु गरेको पत्रकारिता पुरस्कारको रकम क्रमशः बढाएर गएको वर्षदेखि ४२ हजार रुपैयाँ पुर्याएको बताए ।
प्रेस सेन्टर नेपालले यसअघि चन्द्र भण्डारी, गञ्जबहादुर दाहाल, लीला बराल, बिमल लामिछाने, जिएन शर्मा, केशव भट्टराई, दिपिन राई, राजु पाठक, दिपक अधिकारी, लीलाराज झापाली, डिकेश लामा र झुलन रेग्मीलाई सो पुरस्कार प्रदान गरिसकेको छ ।
त्यस्तै यसै वर्षदेखि सुरु गरेको डि. कौडिन्य पत्रकारिता स्मृति पुरस्कार अक्षयकोषमा आर्थिक सहयोग पुर्याउने दाताहरुलाई सम्मान गर्न थालिएको छ ।
प्रेस सेन्टरका प्रदेश सदस्य आइपी भट्टराई, माओवादी केन्द्र मेचीनगरका अध्यक्ष राजन चिमरियालाई दाता सम्मान गरिएको हो ।
कार्यक्रममा प्रेस सेन्टरका केन्द्रीय सदस्य राजु पाठकले डि. कौडिन्यको जीवनी माथि चर्चा गर्नुभएको थियो ।
प्रेस सेन्टर नेपालका अध्यक्ष पुस्प खड्काको अध्यक्षतामा आयोजित कार्यक्रममा उपाध्यक्ष होमप्रकाश अधिकारीले शाब्दिक स्वागत गर्नुभएको थियो भने प्रकाश उप्रेती र राजन साम्पाङले कार्यक्रम संचालन गर्नुभएको थियो ।