
शिवसताक्षी । झापाको शिवसताक्षीमा निर्माणाधिन दुधे रंगशालामा आगामी कार्तिक महिनादेखि खेल सञ्चालनमा आउने भएको छ ।
नगरपालिकाको नगर गौरवको आयोजनाको रुपमा रहेको नगरस्तरीय दूधे रंगशालामा प्यारापिट निर्माणको काम अन्तिम चरणमा पुगेसँगै नगरपालिकाले खेल सञ्चालनको तयारी गरेको हो ।
प्यारापिटको काम सकेर उक्त रंगशालामा आगामी कार्तिक १५ गतेदेखि झापा महिला कपको तयारी सुरु गरिएको शिवसताक्षी नगरपालिकाले जनाएको छ । २०७४ सालमा गुरु योजना तयार गरेपछि नगरपालिका रंगशाला निर्माणमा जुटेको थियो ।
हाल खेल मैदानमा झार काट्ने काम पनि निरन्तर भइरहेको शिवसताक्षी नगरपालिकाले जनाएको छ । नगरपालिकाले रंगाशालामा उद्घाटन खेलको रुपमा झापा महिला गोल्ड कपको खेलाउने भएको हो ।
६ विगाह १५ कठ्ठा जग्गाको क्षेत्रफलमा रहेको रंगशालाको कम्पाउण्ड, गेट यस अघि नै निर्माण भइसकेको थियो । स्थानीय खेलाडीहरुको अगुवाईमा मैदान सम्याएर सुरु गरिएको खेल मैदान तिनै तहको सरकार आएसँगै व्यवस्थित गर्न थालिएकोखेल मैदान निर्माण उपभोक्ता समितिका अध्यक्ष भिम लिवाङ्गले बताउनु भयो।
उहाँले रंगशाला निर्माणका लागि पहिलो पल्ट संघीय सरकारबाट विनियोजित ४० लाखबाट घेराबाराको काम सुरु गरिएको जानकारी दिनुभयो । रंगशालामा फुटबल खेल साथै एथलेटिक्स र भलिबल कोड समेत निर्माण गर्ने योजना गरेको उहाँको भनाई छ ।
२०५२ सालमा खेल मैदानमा भवानी स्मृति गोल्ड कप पहिलो पल्ट सञ्चालन गरिएकोे तत्कालिन भवानी स्मृति गोल्ड कपका अध्यक्ष विरबल जवेगुले बताउनु भयो। उहाँले भन्नुभयो, तत्कालिन अवस्थामा फुटबल खेल्नका लागि खेल मैदान थिएन । स्थानीय युवाहरुको सहयोगमा होली सम्याएर खेल मैदान निर्माण गरिएको थियो । त्यही बेला भवानी स्मृति गोल्ड कप पहिलो पल्ट खेलाइएको हो ।
शिवसताक्षी नगरपालिकाले रंगशाला निर्माणमा २ करोड ४६ लाख खर्च गरिसकेको छ भने, संघीय सरकारले रंगशालाको घेराबारा र गेट निर्माणका लागि १ करोड १० लाख खर्च गरेको छ । रंगशाला पूर्णरुपमा निर्माण भएपछि २५ हजार दर्शकले एकै पटक खेलको अवलोकन गर्न सक्नेछन् । हाल निर्माण भएको प्याराफिटमा करिब १५०० दर्शकले खेलको अवलोकन गर्न पाउने छन् ।
गोल्डकपलाई सफलता पूर्वक सम्पन्न गर्न नगरपालिका र वडा कार्यालयहरुले बजेट व्यवस्थापन गरिएको नगरप्रमुख मेगाहाङ्ग थोप्राले बताउनु भयो । उहाँले नगरले निर्माण गरेको रंगाशाला झापा महिला गोल्ड कप खेलाएर रंगशालाको उद्घाटन गर्ने योजना रहेको जानकारी दिनुभयो । गोल्ड कपका लागि नगर, वडाहरुबाट केही सहयोग रकम उपलब्ध हुनेछ भन्नुभयो, गोल्डकप सञ्चालन समितिले अन्य खर्चको व्यवस्था गर्ने नगर प्रमुख थोप्राले जानकारी दिनुभयो ।