
मेचीनगर । वर्षौंदेखि जंगली हात्तीबाट प्रताडित बाहुनडाँगीका बासिन्दा बाँसको जरामा हात्तीको आकृति बनाएर बेच्न थालेका छन् ।
दिनरात मेहेनत गरेर बाहुनडाँगीका किसाले लगाएको धानबाली खाने, नष्ट गर्ने, घरै भत्काउने र बेलाबेला मानिसलाई लखेटी लखेटी ज्यानै लिने गरेपछि बाँसको जराबाट हात्ती कै आकृति बनाएर बेच्न थालेको बताइएको छ ।
हात्ती, चराचुरुङ्गी, वन्यजन्तु तथा अन्य आकर्षक सामग्रीहरुको आकृति बनाएर यहाँका बासिन्दा स्वदेश तथा विदेशमा बिक्री गर्न थालेका हुन् ।
खेर गएका, दाउराका रुपमा बाल्न वा फालिएका बाँसका जरालाई हस्तकलाको सामग्री उत्पादन गर्ने कच्चा पदार्थको रुपमा प्रयोगमा ल्याएर महंगो मूल्यमा बेचिरहेको बाहुनडाँगीकी पुष्पा विष्ट घिमिरे बताउनु हुन्छ ।
वर्षौंदेखि हात्तीसँग पौंठेजुरी खेलेकी उहाँले यत्तिकै खेर जाने बाँसका जराको महत्व बल्ल बुझ्न थालेको बताउँदै यसको महत्व र उपयोगिता बुझेपछि आत्मनिर्भर बन्न सकिने रहेछ भन्ने थाहा पाएको बताउनु हुन्छ ।
‘वर्षौंदेखि बाँसका जराको के काम भन्दै बालियो वा त्यसै पचेर गयो’ उहाँले भन्नुभयो, ‘मेचीनगर–४ वडा कार्यालयको तालिम लिएपछि यसको महत्व बल्ल बुझ्न पाइयो ।’
‘‘हस्तकलाका विषयमा वडा कार्यालयले आयोजना गरेको तालिममा सहभागी भएपछि बाँसको जराको महत्व र प्रयोग बुझेपछि अहिले यसको व्यापारमा समूह बनाएर जुट्ने तयारी गरिएका छौं’ घिमिरेले प्रष्ट पार्नुभयो ।
वडा कार्यालयले हस्तकला सम्बन्धी एक महिने तालिम दिएको थियो । सोमबार तालिम समापनको अवसरमा प्रतिक्रिया दिँदै उहाँले प्रशिक्षकले बाँसको जराको महत्व र प्रयोग सिकाए पछि बल्ल दिमागमा आएको बताउनु भयो ।
तालिम लिएका अधिकांशले बाँसको जराबाट हस्तकलाका सामग्री बनाएर बेच्न सुरु गरेका छन् । वडाध्यक्ष अर्जुनकुमार कार्की ‘हात्ती मार्न पाइदैन । पाल्न पनि सकिन्न । अब यसको विकल्प के त ? भन्ने लागेर त्यही हात्ती र अन्य जीवजन्तुको आकृति बाँसको जराबाट बनाएर बेच्ने नयाँ तरिका अपनाएका’ बताउनु हुन्छ ।
यसले बाहुनडाँगीका जनताको आयआर्जनको नयाँ स्रोत बन्ने वडाध्यक्ष कार्कीको अपेक्षा पनि छ ।
समापन कार्यक्रममा मेचीनगर नगरपालिकाका उपप्रमुख मीना पोखरेल उप्रेतीले आय आर्जनको स्रोतलाई नचिनेर सदुपयोग गर्न सकेनौँ । खेर फाल्नु हुँदैन भनेर यसको महत्वलाई सबैले बुझाउनु पर्छ भन्नुभयो ।
वडा कार्यालय र नगरपालिका कार्यालयले सीप विकासका लागि वर्षेनि बजेट छुट्टाइरहेको छ । कोशी प्रदेशको वन, वातावरण तथा पर्यटन कार्यालय र डिभिजन वन कार्यालय झापाले सहजीकरण गरेको हो ।
कार्यक्रममा नागरिक समाज बाहुनडाँगीका अध्यक्ष निलकण्ठ तिवारी, तालिममा सहभागी पुष्पा विष्ट घिमिरे लगायतले यसको महत्व र उपयोगिताका बारेमा चर्चा गर्नुभएको थियो ।
तालिममा सहभागीहरुले बाँसको जराबाट महिलाहरुले प्रयोग गर्ने माला, बुलाकी, बाला, हात्ती, जीवजन्तु लगायतका हस्तकलाका सामग्री बनाएका थिए ।
एउटा मालाको होलसेल रेट एक हजार रुपैयाँ बढी पर्छ । उक्त सामग्रीहरु बजारीकरणका लागि डिभिजन वन कार्यालयले सहयोग गर्ने बताइएको छ ।
तालिममा सहभागीहरुलाई वडा कार्यालयले औजारका सामग्रीहरु र प्रमाण पत्रसमेत वितरण गरेको थियो ।
तालिममा सहभागीहरुलाई हस्तकलाका विज्ञहरु निर्मल शाक्य र भर्खरै भारतीय प्रधानमन्त्रीबाट सम्मानित भएका आसामका प्रभाव शेखले प्रशिक्षण दिनुभएको थियो ।
वडाध्यक्ष अर्जुनकुमार कार्कीको अध्यक्षतामा समापन भएको कार्यक्रमको स्वागत वडा सदस्य गीता थापा मगरले र सञ्चालन वडा सचिव भवानी सिटौलाले गर्नुभएको थियो ।