
बिर्तामोड । बिर्तामोड उद्योग वाणिज्य संघले स्थापना गरेको ‘व्यवसायी सदस्य राहत कोषका लागि संघका पूर्व उपाध्यक्ष गणेशप्रसाद सुवेदीले एक लाख १५ हजार रुपैयाँ प्रदान गर्नुभएको छ ।
आफ्नो जन्म दिनको अवसर पारेर आज सुवेदीले संघका अध्यक्ष राजु न्यौपाने र कोषका संयोजक राजकुमार घिमिरेलाई उक्त रकम प्रदान गर्नुभएको हो ।
विभिन्न सामाजिक तथा धार्मिक संघ–संस्थामा आवद्ध बिर्तामोड ४ निवासी सुवेदी पुराना किराना व्यवसायी हुनुहुन्छ । उहाँले विगत लामो समयदेखि गणेश किराना स्टोर संचालन गर्दै आउनु भएको छ।
बिर्तामोड उद्योग वाणिज्य संघले व्यवसायीको हितका लागि उदाहरणीय काम गरेको जनाउँदै उहाँले रकम प्रदान गर्नुभएको हो ।
कोषमा संकलित रकममध्ये सुवेदीले प्रदान गरेको रकम सर्वाधिक हो । यसअघि संघका सदस्य पर्वत कार्कीले एक लाख ११ हजार रुपैयाँ प्रदान गर्नुभएको थियो ।
व्यवसायीलाई दैवी प्रकोप लगायतका आपत विपतमा राहत प्रदान गर्ने उद्देश्यले स्थापना गरिएको कोषमा यसअघि नै २० लाख रुपैयाँभन्दा बढी रकम संकलन भइसकेको थियो ।
संघका पूर्व अध्यक्ष राजेन्द्रकुमार थापाले पनि हालै आफ्नो जन्म दिनमा ५१ हजार रुपैयाँ प्रदान गर्ने घोषणा गर्नुभएको थियो ।