२०८२ असार २५, बुधवार , ०८:३३:४७ बजे

Sajhamanch
'

पत्रकार उपचार सहयोग कोषमा प्रेस चौतारी नेपालका केन्द्रीय उपाध्यक्ष अधिकारीद्वारा १५ हजार रुपैयाँ प्रदान

बुधवार, असार २५, २०८२

झापा । प्रेस चौतारी नेपालका केन्द्रीय उपाध्यक्ष चेतन अधिकारीले झापामा स्थापित पत्रकार उपचार सहयोग कोषमा १५ हजार रुपैयाँ सहयोग गर्नुभएको छ ।

प्रेस चौतारी नेपाल झापाले २०६९ सालमा स्थापना गरेको पत्रकार उपचार सहयोग कोषलाई उपाध्यक्ष अधिकारीले आज १५ हजार रुपैयाँ सहयोग गर्नु भएको हो ।

केन्द्रीय उपाध्यक्ष अधिकारीले संगठनका झापा जिल्ला अध्यक्ष प्रदीप परियारलाई उक्त रकम प्रदान गर्नुभएको जनाइएको छ । झापाको एक कार्यक्रममा उहाँले घोषणा गर्नुभएको सहयोग रकम आज पठाउनु भएको अध्यक्ष परियारले जानकारी दिनुभयो ।

पत्रकारको स्वास्थ्य उपचारमा सहयोग गर्ने उद्देश्यले स्थापना गरिएको पत्रकार उपचार कोषमा सहयोग रकम जुट्ने क्रम जारी रहेको कोषका संयोजक भीमा शिवाकोटीले जानकारी दिनुभएको छ ।

उहाँका अनुसार कोषमा विभिन्न क्षेत्रमा रहेर सामाजिक काम गर्ने अगुवा, राजनीतिक दलका नेताहरु, संघ–संस्था, व्यक्तिहरुले विशेष अवसरहरुमा कोषलाई सहयोग गर्दै आउनु भएको छ ।

कोषमा हालसम्म साढे ६ लाख रुपैयाँ संकलन भइसकेको छ । कोषमा संकलित सहयोग रकमको व्याजबाट पत्रकारहरुलाई उपचारमा सहयोग गर्ने गरिएको छ ।

संयोजक शिवाकोटीले सदस्य बन्न बाँकी पत्रकारहरुलाई सदस्यता लिन आव्हान गर्नुभएको छ ।

आजै पत्रकार किशोर उपरकोटी, तीर्थराज खरेल र संगीता उप्रेती उपचार सहयोग कोषको सदस्य बन्नु भएको प्रेस चौतारी झापाका उपाध्यक्ष सुनिरा मैनालीले जानकारी दिनुभयो ।

सम्बन्धित खबर