
मेचीनगर । मेचीनगर नगरपालिकाले सञ्चालन गरेको उद्यमशीलता र सीप विकास तालिममा सीप सिकेर दुईजना युवाले आजदेखि सैलुन व्यवसाय सुरु गरेका छन् ।
मेचीनगर–७ नगरपालिका गेट नजिकै आधुनिक सैलुन सञ्चालनमा ल्याएर दिपेश तिवारी र सुनिल शर्मा उद्यमी बनेका हुन् ।
दुई युवाले सञ्चालन गरेको लगनशीलता सैलुनको रिविन काटेर मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले उद्घाटन गरिदिनु भएको छ ।
सो अवसरमा नगरप्रमुख बुढाथोकीले सीप सिकेर उद्यमी बन्न चाहानेलाई नगरपालिकाले तालिम, आर्थिक र प्राविधिक सहयोग गर्ने बताउनु भयो ।
नगरप्रमुख बुढाथोकी र प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले कपाल काटेर सैलुनको सुरुवात गर्नुभएको छ । सैलुनका सञ्चालकहरुलाई पनि नगरपालिकाले आधुनिक प्रविधिको दुईवटा कुर्सी उपलब्ध गराएको छ ।
नगरपालिकाले सञ्चालन गरेको उद्यमशीलता र सीप विकास तालिममा सहभागी भएर सीप सिकेर आत्मनिर्भर बन्ने उद्देश्यले सैलुन सञ्चालन गरिएको सञ्चालक तिवारीले बताउनु भयो ।
उद्घाटन कार्यक्रमको सहजीकरण नगरपालिकाका आर्थिक विकास शाखा प्रमुख दिपेन्द्र कार्कीले गर्नुभएको थियो ।