२०८२ असार २४, मङ्गलवार , ०८:०६:१९ बजे

Sajhamanch
'

एमाले वडा कमिटीद्वारा तामाङ्ग परिवारलाई आर्थिक सहयोग

मङ्गलवार, असार २४, २०८२

शिवसताक्षी । नेकपा एमाले शिवसताक्षी ९ नम्बर वडा कमिटीले मृतक आदित्य तामाङ्गको परिवारलाई आर्थिक सहयोग गरेको छ ।

शिवसताक्षी ९ स्तिथ संगमचोकका १५ वर्षीय आदित्य तामाङ्गको ६ दिन अघि बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा मृत्यु भएको थियो ।

कुटपिटबाट मृत्यु भएको आदित्यका परिवारलाई नेकपा एमाले शिवसताक्षी ९ नम्बर वडा कमिटीले नगद २९ हजार ९२० रुपैयाँ सहयोग गरेको हो ।

जहाँ अप्ठ्यारो त्यहाँ एमाले भन्ने मुल नारासहित समाजमा दुःख पीडामा परेका नागरिकलाई सहयोग गरेको नेकपा एमाले वडा कमिटी ९ का अध्यक्ष लोकेश खनालले जानकारी दिनुभयो ।

उहाँले तामाङ्ग परिवार अति विपन्न अवस्थाको रहेकाले नेकपा एमाले वडा कमिटीले अप्ठ्यारोमा परेको परिवारलाई सानो भए पनि सहयोग गरेको बताउनु भयो ।

“एमाले सधैं पीडा र अप्ठ्यारो परेका जनताको साथमा रहँदै आएको छ” उहाँको भनाई थियो ।

तामाङ्ग परिवारले उपचारमा सक्दो प्रयास गरे पनि आदित्यको जीवन बचाउन सकेको थिएन । उनको उपचारको क्रममा विएण्डसी अस्पताल बिर्तामोडमा मृत्यु भएको थियो ।

घटनामा संलग्न रहेको आरोपमा ६ जनालाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जनाइएको छ ।

आजै मृतक आदित्यकी आमा सीता तामाङ्गको पनि निधन भएको छ । केही समयदेखि जण्डिस रोगबाट ग्रस्त सीताले पनि असह्य पीडाका बीच यो संसार छाडेकी हुन् । तामाङ्ग परिवारमा अब मृतक आदित्यका पिता र एक नाबालक भाइमात्र छन् ।

सहयोगका क्रममा नेकपा एमाले जिल्ला कमिटी सदस्य मेगाहाङ्ग थोप्रा, जिल्ला सचिवलय सदस्य तथा क्षेत्र नं. ४ का संयोजक धनबहादुर थेवे लगायतको सहभागिता थियो ।

सम्बन्धित खबर