
मेचीनगर । मेचीनगरको एक कार्यक्रममा स्वास्थ्य क्षेत्रका स्वयमसेवकहरुले अझै पनि क्षयरोगीले समाजसँग डराएर रोग लुकाइरहेको बताएका छन् ।
सोमबार मेचीनगर नगरपालिकाको स्वास्थ्य शाखाले आयोजना गरेको क्षयरोग मुक्त पालिका घोषणा अभियान अन्तरगत सामाजिक परीक्षण कार्यक्रममा स्वयमसेवीकाहरुले समाजले के भन्छ भनेर डराएर रोग लुकाइरहेको बताएका हुन् ।
मेचीनगर–६ र ११ नम्बर वडामा कार्यरत क्षयरोग सम्बन्धी काम गर्ने स्वयमसेवीकाहरु तरा भण्डारी, लक्ष्मी थापा लगायतले क्षयरोगका लक्षण र देखिएका खोज्दै घरघरमा पुग्दा धेरै समस्या आउने गरेको बताउनुभयो ।
‘क्षयरोगको शंका लागेर घरमा गएर ढोका ढकढक गर्दा ढोका खोल्दैनन्’, भण्डारी र थापाले भन्नु भयो–‘समाजसँग डराएर, कस्ले के भन्छ, थाहा पाउछन् भनेर ढोका खोल्दैनन् । त्यसो गर्दा रोगीको परीक्षण, नियमित औषधि लगायत सेवासुविधाबाट बञ्चित हुन्छन् । सर्ने सम्भावना हुन्छ । प्रत्येक नागरिकले सहयोग सचेत हुन आवश्यक छ ।’
समीक्षासहितको कार्यक्रममा नगरप्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना पोखरेल उप्रेती, प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारी, सामाजिक विकास समिति संयोजक ह्दय राजबंशी, स्वास्थ्य कार्यालय झापाका क्षयकृष्ठ अधिकृत वीरेन्द्र दास, सहिद दशरथ चन्द मावि चारआलीका प्रधानाध्यापक लेखनाथ पौडेल (केशव), क्षयरोग निको भएका परिवारका सदस्य, स्वास्थ्यकर्मी लगायतले समस्या, उपया र समाधानका विषयमा चर्चा गर्नुभएको थियो ।
कार्यक्रमको सहजीकरण मानव कन्सल्टेन्सी प्रालि बिर्तामोडका सञ्चालक नारायण नेपालले गर्नुभएको थियो । हामी क्षयरोग अन्त्य गर्न सक्छौँ । लगानीको प्रतिवद्वता र सेवा प्रवाहको सुनिश्चितता आजको आवश्यकता’ भन्ने मुल नाराका साथ आगामी २०८३ सालमा मेचीनगरलाई क्षयरोग मुक्त पालिका घोषणा गरिने अभियान चलिरहेको छ ।
स्वास्थ्य शाखा प्रमुख सविता सापकोटाले १८५ जना क्षयरोगीमा केहि निको भए भने केहिको निगरानीमा उपचार भइरहेको बताउनुभयो । सापकोटाका अनुसार क्षयरोगी प्रत्येक विरामीलाई वर्षेनी पोसिलो खानेकुरा प्याकेजमा दिने गरिएको छ । जसमा एक बोरा चामल, एक क्यारेट अण्डा, एक लिटर खानेतेल, एक केजी बदाम, एक केजी मिक्स सातु र एक केजी मुसुरी दाल दिने गरिएको छ ।