२०८२ असार १३, शुक्रवार , ०९:४७:५२ बजे

Sajhamanch
'

अर्जुनधारा ८ : गोलप्रथाद्वारा विद्युतीय चुल्हो वितरण

शुक्रवार, असार १३, २०८२

अर्जुनधारा । अर्जुनधारा नगरपालिका वडा नम्बर ८ को कार्यालयले गोलाप्रथाबाट ५० घर परिवारलाई बिहीबार विद्युतीय चुल्हो वितरण गरेको छ ।

चालु आर्थिक वर्ष २०८१/८२ को बजेटबाट ५० थान विद्युतीय चुल्हो वितरण गर्ने योजना बनाइएकोमा ३८४ वटा निवेदन परेकाले गोलाप्रथाबाट छनोट गरिएको जनाइएको छ ।

वडाध्यक्ष कुमारप्रसाद उप्रेतीका अनुसार वडाबासीबाट निवेदन माग गर्दा स्रोतभन्दा बढी निवेदन परेकाले कसैलाई भेदभाव नहोस् भन्ने हेतुले गोलप्रथा गरी वडाबासीलाई चुल्हो वितरण गरिएको हो ।

विद्यतुीय चुल्हो वितरणका लागि यसवर्ष २ लाख ५० हजार बजेट विनियोजन भएको थियो । जसमा ५० जना वडाबासीलाई चुल्हो वितरण गर्ने वडाको योजना भए पनि ३८४ घरपरिवारको निवेदन परेको उहाँले बताउनु भयो ।

सीमित स्रोत भएकाले निवेदन दिने वडाबासी र जनप्रतिनिधिको रोहवरमा गोलप्रथाद्वारा विद्युतीय चुल्हो वितरण गरिएको वडा कार्यालयले जनाएको छ । वडा कार्यालयले गतवर्ष ४० घर परिवारलाई चुल्हो वितरण गरेको थियो । यस कार्यक्रमलाई आगामी आर्थिक वर्षमा निरन्तरता दिइने वडाध्यक्ष उप्रेतीको भनाइ छ ।

वडाबाट उपलब्ध हुने सेवा सुविधाबाट कोही नदोहोरिने र कोही नछुट्ने तवरबाट सेवा प्रवाह भइरहेको उहाँका दाबी छ ।

भाग्यशाली बन्न सफल वडाबासीहरूलाई एक कार्यक्रमबीच वडाध्यक्ष उप्रेतीसहित वडा सदस्यहरू मनोजकुमार थापा रैका मगर, ऋषिप्रसाद घिमिरे र सुजता रसाइलीले विद्युतीय चुल्हो वितरण गर्नुभयो ।