
झापा । बिर्तामोडको एक किराना पसलमा आगलागी भएको छ ।
गएराति अन्दाजी ११ः२५ बजे बिर्तामोड नगरपालिका ५ स्थित न्यूटन्स एजुकेशन एकाडेमी उत्तरपट्टि विदुर मिश्रको साढे २ तले पक्की घरको भुइँतलामा सटर कोठा भाडामा लिई शर्मिला श्रेष्ठले सञ्चालन गरेको श्रेष्ठ किराना पसलमा बिद्युत् सर्ट भई आगलागी भएको हो ।
आगलागीबाट किरानाका सम्पूर्ण सरसामानहरू जलेर नष्ट हुँदा अन्दाजी १२ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
आगलागीबारे इलाका प्रहरी कार्यालय बिर्तामोडमा जानकारी प्राप्त हुनासाथ प्रहरी नायव निरीक्षक अशोक चौहानको कमान्डमा ७ जनाको प्रहरी टोली, स्थानीय र बिर्तामोड नगरपालिकाको दमकलको सहयोगमा आगो राति १२ बजे पूर्णरुपमा नियन्त्रणमा आएको थियो ।