
झापा । भद्रपुरस्थित मेची पुलमा लागूऔषध ब्राउन सुगरसहित एक जना युवा पक्राउ परेका छन् भने दुई जना फरार भएका छन् ।
बिहीबार भद्रपुर नगरपालिका–५ मेची पुलमा भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका बिर्तामोड नगरपालिका–२ का २९ वर्षीय सञ्जय चौधरी ब्राउन सुगरसहित पक्राउ परेका हुन् ।
चौधरीसहित तीन युवालाई सोधपुछ गर्नका लागि रोक्न खोज्दा बिर्तामोड–२ का अन्दाजी ४० वर्षीय लोकराज राजवंशी र अन्दाजी २८ वर्षीय गणेश राजवंशी भारततर्फ भागेका थिए ।
प्रहरीले चौधरीलेको साथबाट प्लाष्टिकसहित ३ ग्राम २२० ब्राउन सुगर बरामद गरेको थियो । चौधरीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको र फरार रहेका दुई जनाको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।