२०८२ साउन २, शुक्रवार , ११:२२:४० बजे

Sajhamanch
'

महिला तथा किशोरीहरुका लागि शिवसताक्षीमा स्वास्थ्य शिविर, २३४ जनाले लिए सेवा

बिहिवार, जेठ २२, २०८२

शिवसताक्षी । झापाको शिवसताक्षीमा महिला तथा किशोरीहरुका लागि बृहत स्वास्थ्य शिविर सञ्चालन भएको छ ।

शिवसताक्षी नगरपालिकाको आयोजना र सम्पन्न सबल नेपालको समन्वयमा भएको स्वास्थ्य शिविरमा नगरका २३४ महिला तथा किशोरीहरुले स्वास्थ्य परीक्षण गराएका छन् ।

उपमेयरसँग महिला कार्यक्रम अन्तर्गत शिविरमा शिवसताक्षीका महिला तथा किशोरीहरुको स्वास्थ्यलाई मध्यजर गर्दै शिविरको आयोजना गरिएको नगरपालिकाले जनाएको छ । शिविरमा २०७ जना महिलाहरुको भिडियो एक्सरे पनि गरिएको छ ।

त्यस्तै ८१ जनाको पाठेघरको मुखको क्यान्सर परीक्षण, १०५ जनाको स्तनको क्यान्सर परीक्षण गरिएको नोवेल अस्पताल विराटनगरका मार्केटिङ्ग अफिसर तथा जनसम्पर्क अधिकारी नविन दाहालले जानकारी दिए । उनका अनुसार पाठेघरको मुख र स्तन क्यान्सर परीक्षणको रिपोर्ट अस्पतालले पठाउने छ ।

नोवेल अस्पताल विराटनगरका डाक्टरहरुको टोलीले सहजीकरण गरेको शिविरमा सहभागीहरुले अस्पतालमा उपचारका लागि जाँदा २५ प्रतिशत छुट पाउने व्यवस्था रहेको अस्पतालका जनसम्पर्क अधिकारी दाहालले बताए । हाल नोवेल अस्पतालमा उच्च स्तरीय प्रविधिबाट क्यान्सर लगायतका अन्य रोगहरुको उपचार गरिँदै आएको अस्पतालले जनाएको छ ।

शिवसताक्षी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुनिता तुम्बाहाङफेले शिबिर उद्घाटन गरेकी थिइन् । उद्घाटनका क्रममा अधिकृत तुम्बाहाङफेले नगरमा बढी जस्तो क्यान्सर रोगको उपचार गर्नका लागि सिफारिस गर्न आउने क्रम बढेको जानकारी दिइन् ।

उनले शिवसताक्षीमा क्यान्सर रोग दिन प्रतिदिन बढेको देखिएकाले विशेष गरी गृहिणी महिला र किशोरीहरुलाई मध्यनजर गर्दै कार्यक्रम राखिएको बताइन् ।

‘रोग नदेइखिकन अस्पताल नजाने चलन छ, यो गलत हो’ उनले भनिन् ‘गएको वर्ष पनि शिविरमा परीक्षण गरेका केही महिलाहरुलाई क्यान्सर भएको पाइएको तथ्यांक नगरसँग रहेको छ ।’

वडा नं. १ आधारभूत स्वास्थ्य केन्द्र र वडा नं. १० को शहरी स्वास्थ्य कार्यालयमा जेष्ठ २१ र २२ गते शिबिर सञ्चालन गरिएको सम्पन्न सबल नेपालका उपाध्यक्ष लिला सिलवालले जानकारी दिइन् ।

शिविरमा क्यान्सर रोगका वरिष्ठ विशेषज्ञ डा. प्रदीप भण्डारी, स्त्री तथा प्रशुतीरोग विशेषज्ञ डा. शिवानी झा, रेडियोलोजिस्ट डा. प्रिती यादवले सहजीकरण गरेका थिए ।

सम्बन्धित खबर