
मेचीनगर । मेचीनगर नगरपालिकाले सुकुम्बासीहरुलाई धनीपूर्जा दिनका लागि नापजाँच सुरु गरेको छ ।
मेचीनगर नगरपालिका अन्तरगतको भूमि समस्या समाधान आयोगले बुधबार वडा नम्बर १३ को फूलबारी टोलका भूमिहिन दलित, भूमिहिन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुको जग्गा नापजाँच सुरु गरेको हो ।
नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले जग्गाको नापजाँचको सुरुवात गरेका हुन् । निस्सा दिइएकाहरुको मेसिनबाट जग्गा नापजाँच गरेर धनीपूर्जा दिने गरी तयारी गरिएको उनले बताए ।
आगामी साउन सम्ममा यकिन गरिएकालाई धनीपूर्जा वितरण गरिने योजना रहेको उनको दावी छ ।
नगरपालिका अन्तरगत भूमि समस्या समाधान आयोगका फोकल पर्सन अनन्तप्रकाश वस्तीले स्वागतसहित १५ वटै वडामा कन्ट्रोल प्वाइन्ट राखिएको र सबैमा नापजाँच सकेर आगामी साउनमा धनीपूर्जा वितरण गर्ने गरी लागिएको जानकारी दिए ।
मेचीनगर–१३ का वडाध्यक्ष कृष्णराज सिग्देलको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा उपप्रमुख मीना पोखरेल उप्रेती, कार्यपालिका सदस्य रीता परियार, निवर्तमान कार्यपालिका सदस्य निरु परियार, वडा सदस्य, कर्मचारी लगायत स्थानीयबासीहरुको उपस्थिति थियो ।
कार्यक्रमको सहजीकरण वडा सचिव पवित्रा बस्नेतले गरेकी थिइन् ।
वडा नम्बर १३ का २३६ जनाको निवेदन नगरपालिकामा प्रविष्ट गरिएको छ । जसमा भूमिहिन दलित १३ जना, भूमिहिन सुकुम्बासी १६० जना तथा अव्यवस्थित बसोबासी ६३ जना रहेका छन् ।
त्यसमध्ये फूलबारी टोलका २२ वटा घर परिवारको ७ कठ्ठा जग्गामा बुधबारदेखि नापजाँच सुरु गरिएको छ । २२ जनामध्ये ९ जनाको कागजात पूरा नभएको बताइएको छ ।
भूमि समस्या समाधान आयोग शाखा प्रमुख सर्भेक्षक रामनारायण कुमार शर्मा, अमिनहरु सन्तोष रम्तेल र वेदकुमार यादव नापजाँचका लागि प्राविधिक रुपमा खटिएका छन् ।
सर्भेक्षक शर्माले भूमिहिन दलित र भूमिहिन सुकुम्बासीको हकमा शहरी क्षेत्रमा १३० र ग्रामीण क्षेत्रमा ३४० वर्गमिटर तथा अव्यवस्थित बसोबासीहरुले शहरी क्षेत्रमा १३० र ग्रामीण क्षेत्रमा एक हजार वर्गमिटर क्षेत्रफल पाउने बताए ।
उनका अनुसार आवासका लागि १३० र ३४० वर्गमिटर भन्दाबढी जग्गा ओगटेमा राजश्व लाग्ने छ । १३० र १००० वर्गमिटर ओगटेकाले आवास वा कृषि सबैमा राजश्व तिर्नु पर्नेछ ।
मेचीनगरमा ५ हजार १७१ जना भूमिहिन दलित, भूमिहिन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुको निवेदन प्रविष्ट भएको छ । जसमा भूमिहिन दलित ३१० जना, भूमिहिन सुकुम्बासी १ हजार ८६८ जना तथा अव्यवस्थित बसोबासीहरु २ हजार ९९३ जना रहेका छन् ।
यसैगरी एक हजार १४ जना भूमिहिन दलित, भूमिहिन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुको कागजात अपुरो रहेको नगरपालिकाले जनाएको छ ।
कार्यालयमा आएका निवेदनमा प्रविष्ट हुन बाँकी रहेका एक हजार १४ जनामा भूमिहिन दलित १५६ जना, भूमिहिन सुकुम्बासी २४१ जना तथा अव्यवस्थित बसोबासीहरु ६१७ जना छन् ।