
भद्रपुर । दुई वर्ष अगाडि कोशी प्रदेशमै पहिलो पटक भद्रपुर नगरपालिकाले युवा सम्मेलन गरेर इतिहास बनाएपछि यसवर्ष दोस्रो संस्करण गरिने भएको छ ।
युवाको सशक्तिकरण जलवायु कार्य, नेतृत्व विकास र स्थानीय विकासमा हातेमालो भन्ने उद्देश्य बोकेर भद्रपुरमा दोस्रो नगर सम्मेलन २०८२ हुने भएको हो ।
भद्रपुर नगर युवा परिषद्को आयोजनामा जेठ २३ र २४ गते भद्रपुर युवा नगर सम्मेलन हुन लागेको परिषद्का सदस्य सचिव योगेन्द्र पौडेलले जानकारी दिएका छन् ।
नगर सम्मेलनलाई सभ्य र भव्य बनाउने उद्देश्यले नगर युवा परिषद्ले नगर क्षेत्रका सरोकारवाला निकायसँग बृहत् छलफल समेत गरेको छ ।
छलफलमा कार्यक्रमको उद्देश्य र विषयवस्तु प्रस्तुत गर्दै परिषद्का अध्यक्षसमेत रहेका नगरप्रमुख गणेश पोखरेलले नगर सम्मेलन मार्फत युवाको नेतृत्व विकास, परिचालन, सशक्तिकरण र स्थानीय विकासमा सहभागिताका लागि युवामा सकारात्मक उत्प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् ।
नगरप्रमुख पोखरेलले युवामा सामाजिक तथा सामुदायिक दायित्व भावनाको विकास गर्ने, जीवनोपयोगी सीपको विकास गरी जीवनलाई उपयोगी र व्यवहारिक धारणासहित बाँच्न उत्प्रेरित गर्ने, नेतृत्व सीपको विकास गर्ने, सक्षम नेतृत्व विकासमा सहयोग गर्ने र दिगो विकासको स्थानीयकरणमा सहयोग गर्ने उद्देश्य रहेको प्रष्ट पारे ।
उक्त दुई दिने कार्यक्रममा सम्बन्धित विषयका विशेषज्ञहरू वैज्ञानिक तथा सामाजिक अभियन्ता, कवि, कलाकार लगायतले युवा नेतृत्व विकास, उद्यमशीलता, जीवनोपयोगी सीप, सकारात्मक सोच, मिडिया तथा डिजिटाइजेसन, दिगो विकास लक्ष्य, सुरक्षित आवास सहर, युवा प्रतिभा प्रस्तुतिकरण तथा सम्मान, लागूपदार्थ दुर्व्यसनी न्यूनीकरण, सुशासन लगायतका विषयमा सहजीकरण गर्ने जनाइएको छ ।
नगरप्रमुख गणेश पोखरेलको अध्यक्षता भएको कार्यक्रममा पत्रकारहरूसित अन्तरक्रियासमेत गरिएको थियो ।
युवा परिषद भद्रपुरका कार्यकारी उपाध्यक्ष आरोग्य तिम्सिनाका अनुसार युवा भेलामा १६ देखि २४ वर्षसम्मका २२० जनालाई सहभागी गराइने छ ।
जसमध्ये वडाको सिफारिसमा प्रति वडाबाट ६ जनाका दरले ६० जना, खुल्ला आवेदनबाट १०० जना, युवा सम्बन्धी संघ–संस्थाबाट ३० जना, नगर युवा परिषदबाट १० जना र पर्यवेक्षक सहभागी २० जनालाई छनोट गरी कार्यक्रममा सहभागी गराइने कार्यकारी उपाध्यक्ष तिम्सिनाले बताए ।