२०८२ जेठ २२, बिहिवार , ०२:४८:१८ बजे

Sajhamanch
'

कोषाध्यक्ष निरौलाद्वारा व्यवसायी सदस्य राहत कोषमा २१,१११ सहयोग

मङ्गलवार, जेठ २०, २०८२

बिर्तामोड । बिर्तामोड उद्योग वाणिज्य संघले स्थापना गरेको व्यवसायी सदस्य राहत कोषमा यस वर्षको जन्म दिनमा पनि युवा व्यवसायी युवराज निरौलाले २१ हजार १११ रुपैयाँ सहयोग गरेका छन् ।

गत वर्ष आफ्नै जन्म दिनमा ११ हजार १११ रुपैयाँ जम्मा गरेर कोषको सुरुवात गरेका निरौलाले यो वर्ष पनि कोष बृद्धिका लागि उक्त रकम प्रदान गरेको जनाएका छन् ।

वाणिज्य संघका कोषाध्यक्ष निरौला संस्थाका अध्यक्ष राजु न्यौपानेलाई रकम प्रदान गरेका थिए । सो अवसरमा निरौलाकी श्रीमती भीमा दुलाल निरौलालगायत व्यवसायीहरुको बाक्लो उपस्थिति थियो ।

मोवाइल तथा एसेसरिजको व्यवसाय गर्ने निरौला बिर्तामोडका स्थापित व्यवसायी हुन् । उनी मोवाइल एशोसिएस झापाका अध्यक्ष हुन् भने नेपाल उद्योग तथा व्यवसायी महासंघ बिर्तामोडको नगर अध्यक्ष हुन् ।

जन्म दिनको अवसरमा आयोजित कार्यक्रममा बोल्दै कोषाध्यक्ष निरौलाले कोषमा एक करोड रुपैयाँ नपुगुन्जेल आफ्नो जन्म दिनमा हरेक वर्ष ११ हजार १११ रुपैयाँ प्रदान गरिरहने घोषणा समेत गरे ।

उनले विपतमा परेका व्यवसायीलाई सहयोग पुर्याउन स्थापना गरेको कोषमा रकम प्रदान गर्न आम व्यवसायीलाई आग्रहसमेत गरेका छन् ।

व्यवसायी सदस्य राहत कोषका संयोजक राजकुमार घिमिरे ‘राजु’ लगायतको उपस्थितिमा आयोजित कार्यक्रममा कोष वृद्धिका लागि सहयोग पुर्याउने निरौला दम्पत्तीलाई कदरपत्रद्वारा सम्मान गरिएको थियो ।

संघका महासचिव कुशल खतिवडाले सञ्चालन गरेको कार्यक्रममा वाणिज्य संघका पदाधिकारी सदस्यहरु एवम् बिर्तामोडका व्यवसायीहरुको बाक्लो उपस्थिति थियो ।