२०८२ जेठ १०, शनिवार , ०८:३९:५४ बजे

Sajhamanch
'

अनियमितता गरेको प्रमाणित भए राजनीतिबाटै राजीनामा दिन्छु : गृहमन्त्री लेखक

शनिवार, जेठ १०, २०८२

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले संवैधानिक निकायबाट कुनै पनि बेला कुनै पनि कर्मचारी माथि अनुसन्धान हुनसक्ने बताएका छन् । शनिबार यहाँ सञ्चारकर्मीहरूसँग उनले गृह मन्त्रालय अन्तर्गत हजारौँ कर्मचारी रहेकाले कुनै कर्मचारीमाथि अनुसन्धान हुने बित्तिकै मन्त्रीले नै राजीनामा दिने कुराले राम्रो नजीर नबसाल्ने जिकिर गरे ।

गृहमन्त्री लेखकले अगाडि भने, ‘गृह मन्त्रालयमा हजार कर्मचारी छन् । यहाँ रहेका कुनै पनि कर्मचारी माथि संवैधानिक निकायले जुनसुकै बेला अनुसन्धान गर्नसक्छ । के त्यसो हुँदा सबै मन्त्रीहरूले राजीनामा दिँदै जाने हो ? के त्यही पद्धति बसाउने हो ? त्यो सम्भव छ ? त्यसकारण मैले भनिसकेँ, मेरा विरुद्ध राजनीतिक र नियोजित रूपले षड्यन्त्रमूलक ढंगले झुट्टा प्रचारबाजी भइरहेको छ ।’

उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनमा ‘भिजिट भिसा’का विषयमा मात्रै होइन, आफ्नो राजनीतिक र सार्वजनिक जीवनमा आर्थिक अनियमितता गरेको विषय प्रमाणित भए आफू पदबाट मात्र नभई राजनीतिबाटै अलग्गिने बताए ।

‘अहिले जुन सवाल उठिरहेको छ, यसका सन्दर्भमा मात्रै होइन, मेरो सार्वजनिक र राजनीतिक जीवनमा यदि एउटा मात्रै पनि आर्थिक अनियमितता गरेको प्रमाणित कसैले गर्‍यो भने म पदबाट होइन राजनीतिबाट राजीनामा दिन्छु’ उनले भने, ‘यसर्थ मेरा विरुद्ध नियोजित र षड्यन्त्रमूलक ढंगबाट झुट्टा प्रचारबाजी भइरहेको छ । यस विषयमा विस्तृत धारणा राख्न आगामी जेठ १३ गतेको प्रतिनिधिसभा बैठकमा समय माग गरेछु ।’

यसअघि आजै गृह मन्त्रालयले पनि प्रेस विज्ञप्ति जारी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको घटनासँग मन्त्रालयको नेतृत्वलाई जोडेर समाचार प्रकाशित प्रसारित भएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । विज्ञप्तिमा कुनै पनि गैरकानुनी वा भ्रष्टाचारजन्य कार्यमा मन्त्रालय र नेतृत्वको कुनै प्रकारको संलग्नता नरहेको स्पष्ट पारिएको छ ।

सम्बन्धित खबर