
- गोपाल काफ्ले
‘भोलि बैशाख २२ गते सोमबार बिहान १०ः३० बजे होटल ग्रीन प्यालेसमा सरलाई निम्तो गरें’ प्रिय सञ्चारकर्मी रमेश तिवारीले फोनमा भन्नुभयो, ‘सामाजिक सञ्जालको प्रयोग र चुनौती’ विषयमा अन्तरक्रिया राखिएको छ । यो निम्तो बैशाख २१ गते साँझको थियो ।
पछिल्लो समय उपयोगभन्दा दुरुपयोग बढी भइरहेको सामाजिक सञ्जालले धेरै चुनौतीहरु निम्त्याएको कुरा सम्झिएँ । सामाजिक सञ्जाललाई निर्वाध छाड्नेभन्दा पनि नियमन गरेर सञ्चालन गर्न दिनुपर्ने आवाज उठाइरहेको म र नेपाल सरकारले पनि सेवा प्रदायकलाई सूचीकृत हुन पटक पटक निर्देशन दिइरहेको स्मरण गरेँ ।
नयाँपेपर डटकमले रोजेको अन्तरक्रियाको विषय मलाई मन पर्यो । कार्यक्रममा सहभागिताका लागि रमेशको निम्तो पनि आयो । अनि सोचें अन्तरक्रिया हो, केही त बोल्नै पर्ला । त्यसपछि केहीबेर घोत्लिएर बुँदा टिपोट गरेँ । सर्चइन्जिनमा औंला डुलाएँ । यसपछि सामाजिक सञ्जालको प्रयोग र चुनौतीका सन्दर्भमा नेपाली परिप्रेक्ष्यमा उठेका प्रमुख विषयवस्तुहरू बारे सामान्य खाका तयार भयो ।

गोपाल काफ्ले
कार्यक्रममा पदीय हिसाबले बोलाइएका अतिथिहरुले आफ्ना धरणा राख्नेक्रममा मैले टिपोट गरेका केही बुँदाहरु सुनाउनु भयो । आखिर परिवेश एउटै, सन्दर्भ एउटै भएपछि कुरा मिल्नुलाई अनौठो पनि मानिएन । सहभागीहरुका लागि फ्लोर खुल्ला भएपछि २ मिनेट समय दिइएको थियो । मैले टिपोट गरेका कुराहरुलाई सर्सती सुनाउन मात्र पाएँ ।
सामाजिक सञ्जालको प्रयोगका सकारात्मक पक्षहरू :
१. सूचनाको सरल पहुँच र ब्यापकताः सूचना आदानप्रदान, समाचार र विचार साझा गर्न सजिलो भएको छ। ग्रामीण भेगसम्म पनि सूचना पुर्याउने माध्यम बनेको छ।
२. नागरिक पत्रकारिताको विकासः सर्वसाधारणले पनि घटनाको प्रत्यक्ष जानकारी साझा गर्नसक्ने अवस्था बनेको छ ।
३. शैक्षिक सहयोगः विद्यार्थीहरू, शिक्षकहरू तथा अनुसन्धानकर्ताहरूले शैक्षिक सामग्री र जानकारी पाउन सहज भएको छ ।
४. व्यवसाय र उद्यम प्रवर्धनः अनलाइन बजारको विकास, साना उद्यम र स्टार्टअपहरूका लागि नयाँ अवसरहरू खुलेका छन् ।
५. सामाजिक जागरण र अभियान सञ्चालनः सामाजिक न्याय, महिला अधिकार, वातावरण संरक्षण, सामाजिक सरोकारका कार्य आदिमा जनचेतना अभिवृद्धि भएको छ ।
सामाजिक सञ्जालबाट उत्पन्न समस्याहरू र यसका चुनौतीहरुः
१. झूटो सूचना र प्रचारः अपुष्ट समाचार र हल्ला फैलाउने प्रवृत्तिले सामाजिक भ्रम सिर्जना गरेको छ ।
२. घृणा र वैमनस्य फैलाउने सामग्री : जातीय, धार्मिक, भाषिक विभाजन बढाउने सामग्री फैलन थालेका छन्।
३. व्यक्तिगत गोपनीयता उल्लंघनः फोटो, भिडियो वा व्यक्तिगत विवरण बिना सहमति सार्वजनिक गर्ने प्रवृत्ति बढ्दो छ ।
४. साइबर अपराध र ठगीः सामाजिक सञ्जालमार्फत ठगी, ह्याकिङ, ब्ल्याकमेलिङ आदि घटनाहरू बढेका छन् ।
५. मानसिक स्वास्थ्यमा असरः लत, आत्मसम्मानमा कमी, डिप्रेशन लगायतका समस्या सामाजिक सञ्जालको अत्याधिक प्रयोगसँग जोडिएका छन् ।
६. राजनीतिक ध्रुवीकरणः पार्टी र नेताको पक्ष वा विपक्षमा कट्टर धारणा निर्माण भई सामाजिक विभाजन झन गहिरिएको छ ।
७. सामाजिकीकरणमा कमीः विशेषगरी बालबालिकाहरु एकापसमा गफ गर्ने, खेल्ने गर्नुको साटो सञ्जालमा रमाउँछन् । उनीहरुमध्ये कतिपयले गलत कुराहरुलाई अंगालेर मनोरोगी बनेका छन् ।
समय पनि सकियो, टिपोट पनि सुनाइयो । तर खै किन हो, मेरो मनले यो विषयलाई यत्तिमै सिमित राख्न चाहेन अनि लेखियो यही विषयमा प्रस्तुत आलेख ।
मैले सामाजिक सञ्जाल चिनेको पहिलो रुप फेसबुक हो र यसको प्रयोग सन् २००९ बाट गरेको हुँ । यो करिब १५ वर्षको अवधि हो । सुरु सुरुमा टाइमलाइनमात्र थियो, पछि पेज आयो । निरन्तर प्रयोग गरिरहेको छु । व्यक्तिगत टाइमलाइन, पेजमा तिम्रो पोष्टले अभद्र प्रस्तुति जनाइरहेको छ भनेर आजसम्म मेटाले कुनै सुझाव वा धम्की दिएको छैन ।
तर मेरो सञ्चारगृह साझामञ्च डटकमको पेजमा यस्तो धम्की बेला बेला आउँछः ‘तिमीले सोसल भायोलेशन गरिरहेका छौं, यही क्रम दोहोर्यायौ भने तिम्रो पेज फेरि कहिल्यै नखुल्ने गरी बन्द गरिदिन्छौं ।’ त्यो भायोलेशन केहो भनेर पेजमा गएर हेर्दा कुनै समाचारहरुमा पोष्ट गरेको शरीर देखिने वा अर्धनग्न फोटो, फोटोमा रगत वा कुनैमा गाली जनाउने शब्दहरु प्रयोग भएको अवस्थामा प्रयोगकर्तालाई चेतावनी दिइएको हुने रहेछ । हामी सकेसम्म त्यसलाई पुनः सम्पादन गरेर सच्याएर रिपोष्ट गर्छौं ।
मैले यो कुरा किन उठान गरिरहेको छु भने सञ्जालका निर्माताहरुले नै सामाजिक हिंसा हुन नदिन यस्ता औजारहरु बनाएका छन् । तर किन आज यस्ता सञ्जालहरुमा छाडा प्रवृत्ति मौलाइरहेको छ ? यसको नियमन गर्न सकिन्न र ? राज्यले चाह्यो भने पक्कै सकिन्छ तर यो विषयले राजनीतिक तरंग ल्याइदिने भयले यसो गर्न चाहिरहेको छैनन् भन्ने बुझ्न आइतबार पर्खनै पर्दैन ।
प्रविधिको विकास यति छिटो भइरहेको छ कि १५ वर्ष अघि मलाई फेसबुकमा फोटो राख्न उतिधेरै स्पेश थिएन तर आज लामो भिडियो केही मिनेटमा अपलोड गर्न सक्छु । यस्तै भिडियो प्लेटफर्म युट्युव आज हजारौं युवाको गरिखाने खेत भएको छ । यही युट्युवमा हरेक किसिमका भिडियो सामग्रीहरु लाखौं भेटिन्छन् । म्यासेन्जर, ह्वाट्सएप आदि देश विदेशमा भएका आफन्त, परिवारजनसँग प्रत्यक्ष कुराकानी गर्ने माध्यम बनेका छन् । ह्वाट्सएपमा व्यवसायिक कामहरु पनि प्रसस्त भइरहेको पाइन्छ । अर्थात् सामाजिक सञ्जालको प्रयोग गरेर मानिसले समाजलाई सकारात्मक रुपान्तरण पनि गरिरहेका छन् ।
सामाजिक सञ्जालका रुपमा सबैले चिनेको र धेरैले प्रयोग गर्ने फेसबुक हो भने पहिले ट्विटर भनिने र आज एक्समा रुपान्तरित अर्को प्लेटफर्म पनि विचार निर्माणको साधन बनेको छ । यस्तै फोटो र भिडियोका लागि इन्स्टाग्राम, टिकटक, युट्युब आदि धेरैले प्रयोग गर्ने साधनहरुका रुपमा परिचित छन् । यी सञ्जालहरुले प्रयोगकर्तालाई एकअर्कासँग जोडेका मात्र छैनन्, यिनले सूचनाको प्रवाहलाई अत्यन्त छिटो र छरितो बनाइदिएका छन् ।
तर अर्कोतर्फ यसको दुरुपयोगले समाजलाई नै विद्रुप पनि बनाइरहेको छ । सामाजिक सञ्जाल गाली गलौजको साधन बनेको छ । छद्म नाम राखेर बनाइएको युजर आइडीबाट समाज नै भाँडिने गरी तथानाम गाली पनि बर्सिइरहेको पाइन्छ । अझ भनौं इस्त्रीद्वेसी टिप्पणी र ट्रोलहरु बग्रेल्ती देख्न पाइन्छ । यस्तोमा चाहिँ सामाजिक हिंसा भयो भनेर त्यो सर्भरले किन नरोकेको भन्ने पनि प्रश्न गर्न मन लाग्छ ।
आजको युग विज्ञान र प्रविधिको युग हो । यसको दिन प्रतिदिन विस्तार भइरहेको छ । यही प्रविधिको प्रयोगले सामाजिक सञ्जालहरु निर्माण भएका छन् र हाम्रा समय कटाउने साधन पनि बनेका छन् । यसलाई रोक्छु भनेर कसैले भन्छ भने त्यो दिवासप्ना मात्रै हुन्छ तर पनि नियमनको टड्कारो आवश्यकता देखिरहेको छु ।
मुलुकका उच्च ओहदाका व्यक्तिहरु तपाईं कसैलाई मन नपर्न पनि सक्छ तर यसको अर्थ तपाईं सामाजिक सञ्जालमा पोखिने पटक्कै होइन । व्यक्ति मन नपर्नु, विचार मन नपर्नुको अर्थ तिनलाई तपाईंको अभद्र व्यवहारले न्याय गर्दैन बरु स्वयम् लाञ्छित हनुपर्ने अवस्था बन्दछ । सामाजिक सञ्जालको उपयोग गरेर तपाईं सूचनाको धनी बन्नुस्, किनकि आज जोसँग धेरै र नयाँ जानकारी छ उ नै धनी मानिस कहलिन्छ । न कि कसैलाई गाली गरेर सञ्जालको दुरुपयोग गर्नुस् ।
समाजलाई सकारात्मक मार्गमा डोहोर्याउनु पर्ने एउटा जमात आज कुनै विपतमा परेका मानिसको उद्धारको साटो मोवाइल तेर्साएर भिडियो खिच्छ र त्यसलाई सामाजिक सञ्जालमा पोष्ट्याउँछ । विपतमा परेको मानिसको जीवनको इहलीला सकियोस् बरु उ मतलव गर्दैन भने के मानिसलाई अब पनि सर्वोच्च सामाजिक प्राणी भन्न मिल्ला र ? हो सामाजिक सञ्जालको उपयोगले यस्तै समाज निर्माण हुन लागेको छ आज ।
सामाजिक सञ्जालहरु आमसञ्चार माध्यम होइनन् । आम सञ्चार माध्यमहरु आधिकारिक हुन्छन् । तिनमा सामाचार विचारहरु प्रकाशन गर्दा कोही कसैको मानहानी वा अपमान भयो भने सम्पादकले सजाय भोग्नुपर्ने व्यवस्था छ । तर सामाजिक सञ्जालहरुको प्रयोगका लागि युजरआइडी आधिकारिक हुन पर्दैन । कहीँ कतै दर्ता गर्न नपरे पछि एउटै व्यक्तिले आवश्यकता अनुसार युजरआइडी क्रिएट गरेर चलाउन पाउँछन् । यो अवस्था नै हाम्रो सन्दर्भमा अत्यन्त घातक बनिरहेको छ । फेक युजरआइडी बनाएर जो जसले जो जसको पनि तेजोहरण गर्न मिल्ने, भए नभएका कुराहरु पोष्ट गरिदिने कारणले गर्दा धेरै मानिसलाई मृत्युको मुखमा पुर्याएको हामीले देखिरहेका छौं । त्यसैले नीति बनाएर यसको नियमन गरिनु अति आवश्यक छ ।
नेपालमा २०४६ सालको राजनीतिक आन्दोलनबाट प्रजातन्त्र पुनः बहाली भएपछि वाक तथा अभिव्यक्ति स्वतन्त्रताले संविधानमा नै स्थान पाएको हो । नागरिकका मौलिक हकहरु मध्ये यो स्वतन्त्रता उपभोग गर्दै आज सामाजिक सञ्जालका प्रयोगकर्ताहरुले यसको दुरुपयोग गरिरहेका छन् । अझै पनि हामी पूर्ण स्वतन्त्रताको वकालत गरिरहेका छौं तर आजको दिन सामाजिक सञ्जालमा व्याप्त अभद्र सामग्रीले यो अधिकार पनि कुण्ठित हुन बेर छैन । यसैले सरकारले शीघ्र यसको नियमनको बाटो खोलोस् । व्यक्तिले प्रयोग गर्ने सञ्जालको उत्तरदायित्व निजसँग अन्तरनिहीत रहने गरी सरकारले आधिकारिकताको व्यवस्था गरोस् । फेक आइडी तत्काल सबै खारेज हुने व्यवस्था मिलाइयोस् । तबमात्र सञ्जालको दुरुपयोगकर्तालाई पहिचान गर्न र कारबाही गर्न सहज हुनेछ । जबसम्म राज्यले सामाजिक सञ्जालको दुरुपयोगलाई नियन्त्रण गर्दैन तबसम्म हाम्रो समाज लयमा फर्काउन सकिन्न । सामाजिक सञ्जाल प्रयोग गर तर दुरुपयोग नगर भन्ने नीतिलाई कडाईका साथ कार्यान्वयन गरिनु नै आजको आवश्यकता हो ।
(यो आलेख बैशाख २५ गते नै तयार गरे तापनि केही समय देशदर्शनमा जानु परेको कारण अपलोड गर्न ढिलाई भएको हो । सम्पादक)