
काठमाडौं । अल एलिट रेस्लिङ स्टार डार्बी एलिनले सफलतापूर्वक सगरमाथा आरोहण गरेका छन् । आइतबार आफू सर्वोच्च शिखरको चुचुरोमा पुगेको जानकारी उनले इन्स्टाग्रामबाट दिएका छन् ।
‘माउन्ट एभरेस्ट समिट’ एलिनले आफू र आफ्नो आरोही टोलीले विश्वको सबैभन्दा अग्लो हिमालको चुचुरोमा एइडब्लुको झण्डा गाडेको तस्बिरको क्याप्सनमा लेखेका छन्, ‘जीवनमा सबै कुराको लागि एइडब्लुलाई धन्यवाद । साहसिक र अद्भुत शेर्पाको टोलीलाई धन्यवाद, यो दृश्य रमाइलो थियो ।’३२ वर्षिय एलिन सगरमाथा चढ्ने सम्भवतः पहिलो प्रो-रेस्लर हुनसक्ने बताइएको छ ।
आरोहणको क्रममा २० हजार ९५८ मिटरको उचाइमा एलिनले किकफ्लिप गरेर विश्व रेकर्ड समेत राखेको विवरणहरूमा जनाइएको छ । सर्वाधिक उचाइमा पहिलोपटक स्केटबोर्ड प्रस्तुत गरेको जनाइएको छ ।
एलिन र उनको टोली अमेरिका फर्किएपछि एइडब्लु टेलिभिजनमा फर्कने अपेक्षा अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । एलिन डिसेम्बर २०२४ देखि बिदामा छन् । उनी रेस्लिङ रिङमा फर्किने मिति पुष्टि नभएपनि जुलाई २०२५ देखि काममा फर्किने जनाइएको छ ।