
काठमाडौं । बनेपामा निर्माण हुन लागेको अत्याधुनिक इन्डोर फिल्म छायांकन स्टुडियोको नाम ‘सिनेपाः’ राखिएको छ । चलचित्र विकास बोर्ड अध्यक्ष दिनेश डीसीले ‘सिनेमा’ र नेवार समुदायले ‘नेपाल’लाई बोलाउने शब्दबाट मिलाएर स्टुडियोको नामाकरण गरिएको जनाए ।
यो नामाकरणले नेपालको पहिलो अत्याधुनिक सुटिङ स्टुडियोलाई संस्कृति र भाषासँग जोड्ने सन्देश प्रवाह गरेको अध्यक्ष डीसीको भनाई छ । सन् २०२६ सम्म निर्माण सम्पन्न हुने लक्ष्यको साथ बनेपा नगरपालिकाको वडा नम्बर १० र ११ मा स्टुडियो निर्माण हुने जनाइएको छ ।बैशाख पहिलो साता स्टुडियो निर्माणको ठेक्का स्वीकृत भएसँगै प्रक्रिया अघि बढेको छ । स्टुडियो निर्माण आरम्भको घोषणा प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार दिउँसो बालुवाटारमा आयोजना हुने विशेष कार्यक्रममार्फत गर्ने तयारी छ ।
यसअघि बनेपा पुगेरै प्रधानमन्त्री शिलान्यास गर्ने तयारी थियो । ‘अब प्रधानमन्त्रीले बालुवाटारबाटै स्टुडियो निर्माण आरम्भ भएको घोषणा गर्नुहुनेछ’ डीसीले भने । बोर्डले यो स्टुडियोलाई चलचित्र क्षेत्रको समृद्धि र चलचित्रकर्मीको लागि गौरवको आयोजना बताएको छ ।
अध्यक्ष डीसीले वर्षौंदेखि चलचित्रकर्मीले देखेको सपनाले मूर्तरुप पाउँदै गएको बताए । उनले भने, ‘नेपाली चलचित्र छायाङ्कनका लागि यो नेपालीकै भव्य स्टुडियो बन्नेछ । यो परियोजनाले स्वदेशी चलचित्र उद्योगलाई अत्याधुनिक प्रविधिसहित सहज ढंगको छायाङ्कन स्थल उपलब्ध गराउनेछ ।’
२०८१ सालको असार २८ गतेको मन्त्रिपरिषद् बैठकले अत्याधुनिक फिल्म छायांकन स्टुडियो निर्माणका लागि बनेपा नगरपालिकाको वडा नम्बर १० र १३ मा रहेको बाहुनडाँडा सामुदायिक वनको दुई हेक्टर वन क्षेत्रको जग्गा प्रयोगका लागि स्वीकृति दिने निर्णय गरेको थियो । स्टुडियोको लागत ३९ करोड रुपैयाँ छ ।