
विराटनगर । मोरङको ग्रामथान गाउँपालिका-२, झापाको दमक नगरपालिका–१ र सुनसरीको दुहबी नगरपालिका– ३ मा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, इटहरीका अनुसार शनिबार भएका छुट्टाछुट्टै दुर्घटना तीन जनाको मृत्यु भएको हो ।दमकमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । दमकको रवि स्टेण्ड गेट नजिकै बेलडाँगीबाट दमकतर्फ आउँदै गरेको ग१ख ६४३७ नम्बरको ट्रकले फाल्गुनन्द चोकबाट बेलडाँगीतर्फ जाँदै गरेको मे८प ४५५८ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।
दुर्घटनामा स्कुटर चालक ताप्लेजुङको दोभान बस्ने २२ वर्षीय अंकीत लिम्बुको घटनास्थलमै मृत्यु भएको हो । स्कुटर पछाडि सवार पाचँथरको मिक्लाजुङ गाउँपालिका–४ की ४२ वर्षीया सृजना राई गम्भीर घाइते भएकी छन् । उनको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ । ट्रक चालक फरार छन् ।शनिबार बेलुका मोरङ ग्रामथान गाउँपालिका– २ बतराहीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
आरएमसी इँटा उद्योगबाट इँटा लोड गरी निस्किएको को१त ७४२५ नम्बरको ट्रयाक्टर खेतमा दुर्घटना हुँदा ट्याक्टर चालक कटहरी गाउँपालिका–५ बस्ने २० वर्षीय राहुल सरदार मृत्यु भएको हो ।
प्रहरीका अनुसार खेतमा फसेको ट्याक्टरलाई इँटा भट्टाकै ३७०१ नम्बरको जेसीबीले पछाडिबाट धकेल्दा ट्याक्टरको इन्जिनको भाग उठेर इँटा लोड गरेको डालामा ठोक्किएको थियो । सो क्रममा चालक गम्भीर घाइते भएका थिए । उपचारका लागि कोशी अस्पताल ल्याए लगतै चिकित्सकले मृत घोषित गरेका थिए ।
दुवै सवारी चालकको लापरबाहीका कारण दुर्घटना भएको प्रहरीले बताएको छ । जेसीबी चालक फरार रहेको प्रहरीले बताएको छ ।शनिबार दिउँसो सुनसरीको दुहबी नगरपालिका– ३ फुटानी चौकमा प्र २–०१–००१ च ०२५१ नम्बरको भ्यान अनियन्त्रित भइ दुर्घटना हुँदा त्रियुगा नगरपालिका– ८ राजाबासका ३० वर्षीय नेपाल प्रहरीका असई विरोध खतिवडाको मृत्यु भएको हो । खतिवडा जिल्ला प्रहरी कार्यालय उदयपुरमा कार्यरत थिए ।
प्रहरीका अनुसार कोशी राजमार्गको इटहरी–विराटनगर सडक खण्डमा इटहरीबाट विराटनगरतर्फ आउँदै गरेको भ्यान अनियन्त्रित भई सडक बारमा ठोक्किएको थियो । दुर्घटनामा खतिवडासँगै तीन जना घाइते भएका थिए ।प्रहरीका अनुसार खतिवडाको विराट शिक्षण अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो ।
दुर्घटनामा चौदण्डीगढी नगरपालिका– ६ का ३८ वर्षीय सुरेश कार्की र १४ वर्षीय रोजिना कार्की घाइते भएका छन् । सुरेश चालक हुन् । रोजिना उनको छोरी हुन् । उनीहरुको अवस्था सामान्य छ ।