
काठमाडौं । राष्ट्रिय पुरुष हक्की प्रतियोगिताको उपाधि नेपाल विभागीय टोली आर्मीले जितेको छ।आर्मीले फाइनल खेलमा गण्डकी प्रदेशलाई २–० गोलले पराजित गर्दै उपाधि हात पारेको हो।च्यासल रंगशालामा बुधबार भएको फाइनल खेलमा आर्मीले सुरुआतदेखि नै आक्रामक रणनीति अपनाउँदै गण्डकीलाई दबाबमा राखेको थियो।
दोस्रो क्वार्टरको २२ औं मिनेटमा राजेन्द्र कार्कीले पहिलो गोल गर्दै सेनालाई अग्रता दिलाए। त्यसपछि ४३ औं मिनेटमा अम्बरबहादुर गुरुङले दोस्रो गोल गर्दै आर्मीको जित सुनिश्चित गरे।
फाइनल खेलको प्लेयर अफ द म्याच राजेन्द्र कार्की घोषित भए। आर्मीलाई उपाधि दिलाउन उत्कृष्ट प्रदर्शन गरेका नेपाली सेनाकै देवसिंह धामी प्लेयर अफ द टुर्नामेन्ट घोषित भए।यसअघि भएको पुरुषतर्फको तेस्रो स्थानको खेलमा नेपाल प्रहरीले एपीएफलाई ३–० ले अन्तरले पराजित गर्दै तेस्रो स्थान हात पार्यो।प्रहरीका लागि शंकर घर्तीमगरले तेस्रो र ५७ औं मिनेटमा गोल गरे। त्यसैगरी मिलन तामाङले ३० औं मिनेटमा एक गोल थपेका थिए।
प्रतियोगितामा व्यक्तिगत विधातर्फ एपीएफका पवन माओ उदीयमान खेलाडी घोषित भए भने नेपाल सेनाका रञ्जित राउत उत्कृष्ट डिफेन्डर चुनिए । उत्कृष्ट गोलरक्षक गण्डकीका जोशन राई बने । प्रतियोगिताका उत्कृष्ट स्कोरर नेपाल सेनाका काशिराज राई र राजेन्द्र कार्की रहे, दुवैले ६९६ गोल गरेका थिए ।