
बिर्तामोड । इलाका प्रहरी कार्यालय अनारमनीको कमाण्ड सम्हाल्न आएका नयाँ प्रहरी प्रमुख डिएसपी बिजय श्रेष्ठले आफूले झापाको विभिन्न स्थानमा विभिन्न समयमा काम गरिसकेकाले यहाँ हुने अपराधिक घटनाका विषयमा जानकार रहेको र सो को न्यूनिकरणमा सबैसँग सहकार्य गरेर काम गर्ने प्रतिवद्धता जनाएका छन् ।
आज दिउँसो पत्रकारहरुसँगको परिचयात्मक कार्यक्रममा डिएसपी श्रेष्ठले अपराध नियन्त्रण नै आफ्नो पहिलो प्राथमिकता हुने बताएका हुन् । उनले बिर्तामोडको शान्ति सुरक्षामा सबै निकायहरुसँग सहकार्य गरेर अघि बढ्ने प्रतिवद्धता जनाए ।
यहाँ लागुऔषध, चोरी, यौनजन्य गतिविधि लगायतका विभिन्न समस्या बारे स्थानीयबाट धेरैजसो गुनासो आउने गरेको सूचना पाएको बताउँदै डिएसपी श्रेष्ठले सामाजिक विकृतिका रुपमा रहेका गतिविधि नियन्त्रण गर्न आफ्नो यूनिट परिचालन गर्ने बताए ।
डिएसपी श्रेष्ठलाई पत्रकारहरुले नेपाल प्रहरीको श्लोगान मुस्कानसहितको सेवा तथा सञ्चारमैत्री भएर काम गर्न आग्रह गर्दै बिर्तामोड क्षेत्रमा बढ्दै गएको लागुऔषध कारोबार र त्यसबाट हुने अपराधिक क्रियाकलाप नियन्त्रण गर्न सूझाव दिएका थिए ।