
भद्रपुर । नेपाल रेडक्रस सोसाइटी झापा जिल्ला शाखाको ५१औं साधारण सभा तथा सुविधा सम्पन्न रक्तसंचार प्रयोगशाला उद्घाटन कार्यक्रममा झापाका दुईजना रेडक्रसकर्मीलाई रेवतीरमण स्वयंसेवा सम्मानद्वारा प्रदान गरिएको छ।
नेपाल रेडक्रस सोसाइटीमा २०२४ सालदेखि सदस्य बनेर काम गर्दै आएका हरिध्वज खत्री र २०४२ सालमा रेडक्रस जिल्ला सदस्यसमेत रहिसकेका कल्याणप्रसाद कोइरालालाई उक्त सम्मान प्रदान गरिएको हो ।
संघीय सरकारका भौतिक पूर्वाधार विकास मन्त्री देवेन्द्र दाहाल, रेवतीरमण नेपालका छोरा सागर नेपाल, रेड्क्रस झापाका सभपति लोकराज ढकाल लगायतले उनीहरूलाई सम्मान अर्पण गरेका हुन् ।
नेपाल रेडक्रस सोसाइटी झापाका पूर्व सभापति स्वर्गीय रेवतीरमण नेपालको परिवार र नेपाल रेडक्रस सोसाइटी झापा शाखाले स्थापना गरेको पाँच लाख रुपैयाँको अक्षयकोषबाट प्रत्येक वर्ष रेवतीरमण स्वयंसेवा सम्मान प्रदान गरिँदै आएको छ।
रेडक्रसको क्षेत्रमा उल्लेखनीय सेवा प्रदान गर्दै आउने रेडक्रसकर्मीहरूलाई प्रत्येक वर्ष सम्मान गरिँदै आएको रेडक्रस झापाका मन्त्री चन्द्र चुडालले बताए ।
५१ औं वार्षिक साधारण सभाको अवसरमा सम्मानित हुने खत्री र कोइरालालाई सम्मान पत्रसहित जनही नगद १५ हजार १११ रुपैयाँ प्रदान गरी दोसल्ला ओडाइएको थियो।
सोही अवसरमा नेपाल रेडक्रस सोसाइटीका पूर्व कर्मचारी अमर भण्डारीलाई समेत कदरपत्रसहित दोसल्ला ओडाएर सम्मान गरिएको थियो।
सोही अवसरमा वर्षभर विभिन्न समयमा रक्तदान कार्यक्रमको आयोजना गरी सबैभन्दा धेरै रगत संकलन गर्ने संस्थाहरु राष्ट्रिय प्रजातन्त्र पार्टी बनियानी (१६४ युनिट), रोटरी क्लब अफ बिर्तामोड मिडटाउन (१४० युनिट) र नेपाल रेडक्रस सोसाइटी उपशाखा दानाबारी (१३४ युनिट)लाई प्रशंसा पत्र प्रदान गरियो ।
त्यसैगरी झापा जिल्लाभरका रेडकस उपशाखाहरूमध्ये गौरीगञ्ज उपशाखाले २३२ युनिट, खुदुनाबारी उपशाखाले १४५ युनिट र बुद्धशान्ति उपशाखाले १२४ युनिट रगत गरेकाले वर्षभरिको मूल्याङ्कन गर्दै सम्मान गरिएको थियो।