
काठमाडौँ । सेयर कारोबार मापक नेप्से परिसूचक बुधबार ८.१४ अंकले घटेको छ । अघिल्लो दिनको तुलनामा ०.३० प्रतिशतले घटेर समग्र नेप्से २ हजार ६ सय २३.८३ बिन्दुमा ओर्लेर बन्द भएको छ ।अघिल्ला दुई कारोबार दिन लगातार घटेको नेप्सेले मंगलबार पनि सोही प्रवृत्ति पछ्याएको छ । तर अघिल्ला दुई दिनको तुलनामा मंगलबार घट्ने दरमा भने कमी आएको छ । गएका तीन दिनमा नेप्से ३७.७५ प्रतिशतले घटेको छ । गत आइतबार साढे ३ अंकले बढे पनि त्यसयताका सबै कारोबार दिन नेप्से घटेको हो ।
यस दिन कारोबारमा आएकामध्ये १०७ कम्पनीको सेयर मूल्य बढ्यो भने १३६ वटाको घट्यो । ७९ हजार ७ सय ७७ पटकको सेयर कारोबारमा २ करोड ६४ लाख ४१ हजार २ सय ६१ कित्ता सेयर किनबेच भए ।
ती किनबेचमा ९ अर्ब ३७ करोड ४१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम पनि घटेको छ । मंगलबार सेयर बजारमा ७ अर्ब ५७ करोड ५२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । उक्त दिन कारोबारमा आएका १३ उपसमूहमध्ये जलविद्युत्, लघुवित्त, सामूहिक लगानी कोष र व्यापार उपसमूहको परिसूचक बढे । बाँकी सबैको परिसूचक घटेपछि समग्र नेप्सेमा गिरावट आएको हो ।सेयर बजारमा लगानीकर्ताको आत्मविश्वास बढ्न नसकेकाले उनीहरूले थप लगानी विस्तार गर्न नसकेको जानकार बताउँछन् ।