
झापा । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा झापाको आयोजनामा रक्त तत्त्व र रक्त व्यवस्थापन सम्बन्धी एक दिवसीय अन्तरक्रिया सम्पन्न भएको छ।
बिर्तामोडमा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा झापा जिल्लाभरका विभिन्न अस्पतालका डाक्टरहरू, नर्स तथा रक्त सञ्चारसँग आवद्ध सरोकारवालाहरूको उपस्थिति थियो।
केन्द्रीय रक्तसञ्चार सेवा केन्द्रका इन्चार्ज एवं क्वालिटी म्यानेजर संजीवकुमार यादवले रगतको व्यवस्थापन, रक्त तत्त्वहरूको आवश्यकता सम्बन्धी सहजीकरण गरेका थिए ।
नेपालमा दिनदिनै बढ्दै गएको रगतको आवश्यकतालाई कसरी पूरा गर्न सकिन्छ भन्ने उद्देश्यले आयोजना गरिएको उक्त अन्तरक्रिया कार्यक्रममा विभिन्न अस्पतालका डाक्टर एवं नर्सहरुले राखेको प्रश्नको नेपाल रेडक्रस सोसाइटी झापा जिल्ला सभापति लोकराज ढकाल र संजीवकुमार यादवले सहभागीहरुलाई जानकारी दिएका थिए ।
उक्त अन्तरक्रिया कार्यक्रममा झापा जिल्ला कार्यसमितिका सदस्यहरू, रक्तदान अभियन्ताहरू, सञ्चारकर्मी लगायत ४७ जनाको उपस्थिति थियो।
झापामा बढ्दै गएको रगतलाई कसरी पूरा गर्न सकिन्छ भन्ने विषयमा छलफल तथा एक आपसमा मिलेर अगाडि बढ्नुपर्नेमा झापाका पुराना डाक्टर शंकरप्रसाद हुजदारले आफ्नो विचार राखेका थिए ।
नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले शाब्दिक स्वागतसहित कार्यक्रमको औचित्य प्रकाश पारेको कार्यक्रमको सञ्चालन नेपाल रेडक्रस सोसाइटी झापा जिल्ला शाखाका मन्त्री चन्द्र चुँडालले गरेका थिए ।
यसैबीच नेपाल रेडक्रस सोसाइटी रक्तसंचार सेवा केन्द्र भद्रपुरमा भोलि बिहीबारदेखि कम्पोनेन्ट सेवा सुरु हुने सभापति ढकालले जानकारी दिएका छन् । करिब ७५ लाख रुपैयाँ लागतमा खरिद गरेको कम्पोनेन्ट मेसिन, एचआइभी टेस्ट गर्ने एलाइजा मेसिन र सुविधा सम्पन्न ल्याब व्यवस्था गरेर भोलिदेखि रक्त सञ्चार सेवालाई विस्तृत रुपमा अगाडि बढाउन लागिएको हो ।
बिर्तामोड रक्तसञ्चार सेवामा यस अगाडि नै कम्पोनेन्ट मेसिनद्वारा रक्त तत्वहरू तयार गरी आवश्यकता अनुसार बिरामीलाई उपलब्ध गराउँदै आएकोमा भद्रपुरमा सुविधा सम्पन्न ल्याब र कम्पोनेन्ट मेसिन जडानसँगै बिरामीलाई थप सहयोग पुग्ने अपेक्षा राखिएको छ।
झापामा छ वटा रक्तसंचार सेवा मार्फत रगत व्यवस्थापन गर्दै आएको रेडक्रसले दमकमा समेत केही महिनाभित्रमा रक्ततत्व बनाउने कम्पोनेन्ट मेसिन ल्याउन लागेको छ।