
- सरोज भट्टराई
शिवसताक्षी । शिवसताक्षी नगरपालिका वडा नं. ९ मा चालू आर्थिक वर्षका लागि स्वीकृत योजनाहरु कार्यान्वयनको अन्तिम चरणमा रहेको जनाइएको छ । वडाको सिलिङ बजेटबाट सडक विस्तार, भौतिक पूर्वाधार, सामाजिक विकासका कामहरु कार्यान्वयनको अन्तिम चरणमा पुर्याइएका हुन् ।
चालू वर्षमा नगरपालिकाबाट विनियोजित ६० लाख रुपैयाँ बराबरको विकास निर्माणका कामहरु धमाधम भइरहेका छन् । वडा नं. ९ मा हाल १ हजार ५०० मिटर सडक कालोपत्रेको तयारी रहेको वडाध्यक्ष डिल्ली फेम्बूले जानकारी दिए ।
यलम्बर चोक दक्षिण ३१० मिटर सडक वडाबाट विनियोजि २० लाख रुपैयाँको लागतमा निर्माणको चरणमा रहेको छ । त्यस्तै संगमचोकदेखि दक्षिण आइतबारे जाने सडक २०० मिटर कालोपत्रे गर्ने तयारी र नगरको रिङ्गरोड अन्तर्गत वडा नं. ९ मा पर्ने चिल्लागढ आइतबारे १ किलोमिटर सडक कालोपत्रेको गर्ने तयारीमा रहेको वडा कार्यालयले जनाएको छ ।
वडाध्यक्ष फेम्बूका अनुसार वडामा रहेका कुनै पनि मुख्य बाटोहरुमा ग्राभेलको काम बाँकी छैन । ग्राभेलको काम अघिल्लो वर्षहरुमा मै सम्पन्न गरिएका छन् । कतै भत्किएका स्थानहरुमा पुरपारको काम मात्र रहेको उनको भनाई छ ।
सामाजिक विकासतर्फ चालू आवमा वडाले सतासी प्राथमिक विद्यालयलाई विद्यार्थी ओसारपसार गर्न ३ लाख ५० हजार बराबरको सिटी खरिद गरेको वडाध्यक्ष फेम्बूले बताए । नगरमा रहेको एकमात्र क्याम्पस सतासीधाम बहुमुखी क्याम्पसलाई मर्मत सम्भारका लागि १ लाख बजेट विनियोजन गरेकोमा त्यसको पनि काम भइरहेको छ ।
आर्थिक विकासतर्फ वडाले कृषकहरुको आय आर्जनमा बृद्धि गर्न मकै रोप्ने मेसिन वितरण गरेको छ । वडाबाट विनियोजित २ लाख बजेटबाट ५५ जना कृषकलाई मकै रोप्ने मेसिन वितरण योजना अन्तर्गत २६ जनालाई वितरण गरिसकेको छ भने, अन्यलाई वितरणको तयारी गरिरहेको वडाध्यक्ष फेम्बूको भनाई छ ।
मकै रोप्ने मेसिन कृषकले माग गरे बमोजिम उहाँहरुको जग्गाका क्षेत्रफलको आधारमा मापदण्ड तयार गरी वितरण गरिएको वडा कार्यालयले जनाएको छ । थोरै क्षेत्रफल भएका कृषकलाई २÷३ जना कृषकको समूह बनाई वितरण गरिएको बताइएको छ । त्यस्तै कृषकलाई १ लाख बराबरको कृषि उत्पादनका लागि स्प्रे ट्यांकी वितरण गरिएको छ ।
झरना खोला, भालु खोलाले क्षतिग्रस्त स्थानहरुमा तटबन्धनको काम गरिएको छ । वडाको संगमचोकस्थित सिंचाईका लागि पाइप खरिद गरी कृषकलाई राहत पुग्ने गरी काम गरिएको वडाध्यक्ष फेम्बूले बताए ।
वडा भित्रका महिला दिदीबहिनीहरुलाई उद्यमी बनाउने उद्देश्यले झोला बनाउने तालिमको दिइएको छ । उनीहरुले तालिम लिएपछि समूह बनाई आफैं झोला उत्पादन गर्न वडाले प्रेरित गरेको वडाध्यक्षको भनाई छ । उनले उद्यमी बन्नका लागि समूह बनाई वडासँग समन्वय गरेमा वडाले सहयोग गर्ने समेत बताए ।
वडाध्यक्ष फेम्बूले आफू निर्वाचित भएपछि मृत्यु संस्कार कार्यक्रम लागू गरेका थिए । उनले चालू वर्षमा पनि मृत्यु संस्कार कार्यक्रमलाई निरन्तरता दिएका छन् । वडा भित्रका नागरिकको मृत्यु भएमा नगद ५ हजार रुपैयाँ सहयोग गर्ने गरेको वडाध्यक्ष फेम्बूले बताए ।
वडाले झरना खोला र भालुखोलाको दुवैपट्टी बाटो निर्माण गरी कोरिडोरको निर्माण योजनामा अन्तर्गत भालुखोला कोरिडोरको काम सुरु गरेको छ । झरना खोलाको दुवै किनारमा स्थानीयबासीले बाटो खोल्न आनाकानी गरेपछि भालुखोला कोरिडोरको काम सुरु गरिएको वडाध्यक्ष फेम्बूको भनाई छ । आगामी जेठ १५ गतेसम्ममा चालू आवको सम्पूर्ण विकास निर्माणका कामहरु सक्ने वडा कार्यालयले जनाएको छ ।