
शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिका वडा नं. ६ शिवगञ्जमा ज्येष्ठ नागरिक भवन निर्माण गरिएको छ । वडाका ज्येष्ठ नागरिकहरुलाई बस्ने, रमाइलो गर्ने र विभिन्न कार्यक्रमहरु गर्ने उद्देश्यले शिवगञ्जमा ज्येष्ठ नागरिक भवन निर्माण गरिएको हो ।
वडा कार्यालय र साहरा नेपालको साझेदारीमा उक्त भवन निर्माण गरिएको वडाध्यक्ष मनोज खुलाल कार्कीले बताए । उनले डेढ कठ्ठा जग्गामा १८ लाख ५० हजार रुपैयाँको लागतमा भवन निर्माण गरिएको जानकारी दिए । जसमा ११ लाख ५० हजार वडाबाट विनियोजित रकम रहेको छ ।
टिनको छानो रहेको भवन ३० फुट चौडाई र ८० फुट लम्बाईको छ । भवनभित्रै शौचालय पनि निर्माण गरिएको छ ।
भवन निर्माण भएपछि शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्राले शिलिङ र खानेपानीको व्यवस्था नगरको तर्फबाट गरिने घोषणा गरेका छन् । मातातीर्थ औैंशीको अवसरमा वडाको आयोजनामा भएको ज्येष्ठ माता सम्मान कार्यक्रममा नगरप्रमुख थोप्राले सिलिङ लगायतका आवश्यक पूर्वाधार निर्माण गरिदिने बताएका हुन् ।
भवन निर्माण भएपछि ज्येष्ठ नागरिकलाई धेरै सहज भएको ज्येष्ठ नागरिक वडा नं. ६ का अध्यक्ष चक्रप्रसाद लुईटेलले बताए । उनले ज्येष्ठ नागरिकहरु भेला भएर भलाकुसारी गर्ने स्थानको आवश्यक थियो । त्यो पूरा भएको छ । उनले भने, भवनमा ज्येष्ठ नागरिकहरु भेला भएर भजन कीर्तन गर्ने, एक अर्काका दुःख सुख साटासाट गर्नाले दिउँसोको समय काट्न सजिलो हुने भएको छ ।
भवन निर्माण गर्नको लागि स्थानीय जन आदर्श माध्यमिक विद्यालयले निःशुल्क जग्गा प्रदान गरेको थियो ।