
बुटवल । भारतको जम्मु कश्मीरमा घुम्ने क्रममा आतंकवादी हमलामा मारिएका बुटवलका सुदीप न्यौपाको शव नेपाल ल्याइएको छ ।
मंगलबार दिउँसो बन्दुकधारी आतंकवादीले गोली हानेर हत्या गरेका सुदिपको शव भारतको नयाँ दिल्लीबाट लखनउसम्म हवाई मार्गबाट र त्यहाँबाट बेलहिया नाकासम्म सडक मार्ग हुँदै ल्याइएको रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक रन्जितसिंह राठौरले जानकारी दिए । ‘आज (बिहीबार) बिहान सात बज्नै लाग्दा सुदिपको डेथ बडी बेलहिया नाका आइपुग्यो । अब यहाँबाट हामीले बुटवल घरसम्म पुर्याइदिन्छौं’, प्रहरी उपरीक्षक राठौरले बताए ।
२७ वर्षीय सुदिप आमा रिमाकला, बहिनी सुष्मा र ज्वाइँ युवराज काफ्लेसहित शनिबार बुटवलबाट कश्मीरको मिनी स्वीजल्याण्डसमेत भनिने वैसरण उपत्यकामा हिउ खेल्ने र घुम्ने उद्देश्यले त्यसतर्फ प्रस्थान गरेका थिए ।
त्यहाँ पुगेर घुमफिरमा रमाइरहेका बेला मंगलबार दिउँसो एक्कासी बन्दुकधारी आतंकवादीले गोली हानेर सुदीपको ज्यान लिएका थिए । सुदिपसँगै गएकी आमा रिमाकला, बहिनी र ज्वाइँले भागेर ज्यान जोगाएका थिए ।भाग्ने क्रममा रिमाकला सामान्य घाइते समेत भएकी थिइन् । सुदिपको शवसँगै आमा र बहिनी ज्वाइँ पनि रुपन्देही आएका छन् ।उक्त आतंकवादी घटनामा कम्तिमा २६ जना मारिएका छन्, तीमध्ये दुई जना विदेशी नागरिक थिए ।
बुटवल उपमहानगरपालिका-१४ का वडाध्यक्षसमेत रहेका सुदिपका काका दधिराम न्यौपानेले सुदीपको शव बेलहियाबाट बुटवल-११ मनकामनापथस्थित आफ्नै घरमा लैजाने बताए ।
आमाबुवाको सम्बन्ध विच्छेद भएपछि सुदीप आमा र बहिनीसँग बुटवल–११ कालीकानगरमा बस्दै आएका थिए । त्यसअघि उनीहरूको घर बुटवल–१४ बेलभरियामा थियो । सुदीपको पुर्ख्यौली घर भने पाल्पाको बगनासकाली गाउँपालिका वडानम्बर ४ हो ।शिक्षण पेशामा आवद्ध बुबा ध्रुव न्यौपाने शिक्षक आन्दोलनका क्रममा काठमाडौंमा थिए । मंगलबार घर फर्किने क्रममा उनले छोराको अप्रिय खबर थाहा पाएका थिए ।