२०८२ वैशाख २६, शुक्रवार , ०२:३७:४७ बजे

Sajhamanch
'

देउनियामा विश्रान्ती घाट बनाउने रकम संकलन गर्न महापुराण लगाइँदै

बिहिवार, वैशाख ४, २०८२

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका वडा नं. ८ स्थित देउनियामा रहेको गणेश पाञ्चायन मन्दिरको आयोजनामा विश्रान्ती घाट निर्माणार्थ श्रीमद्भागवत महापुराण बैशाख ६ गतेबाट आयोजना गरिने भएको छ ।

धार्मिक अनुष्ठान सेवा समाज नेपाल सहआयोजक रहने श्रीमद्भागवत महापुराण बैशाख १३ गतेसम्म सञ्चालन हुने भएको बिहीबार आयोजित पत्रकार सम्मेलनमा जनाइयो ।

धार्मिक अनुष्ठान सेवा समाजका प्रचारक माधवशरण खनाल प्रमुख वाचक रहने पुराणबाट संकलित रकम देउनिया खोलाको भेलागुडीमा विश्रान्ती घाट निर्माणमा खर्च गरिने तथा केही रकम मन्दिरको जीर्णोद्धारका लागि खर्च गरिने आयोजकको भनाई छ ।

दानमा १० हजार रुपैयाँभन्दा माथि सहयोग गर्ने दाताबाट संकलित सबै रकम दाहसंस्कार घाट निर्माणमा खर्च हुने गरी जम्मा गरिने आयोजक समितिका अध्यक्ष बाबुराम पराजुलीले जानकारी दिए । उनका अनुसार ९ हजार ९९९ रुपैयाँसम्म जुटेको सहयोग रकम पुराणका लागि खर्च गरिने छ ।

आयोजक समितिका सचिव अनिल गौतमका अनुसार बिर्तामोड ८ र आसपास जोडिएका अन्य वडाका बासिन्दाको अन्त्येष्टी कर्म गर्ने घाट व्यवस्थित नभएका कारण पुराण मार्फत संकलित रकम र सम्बन्धित वडाबाट सहयोग जुटाएर विश्रान्ती घाट निर्माण गरिने छ ।

सचिव गौतमले धेरैभन्दा धेरै भक्तजन सहभागी गराउन बैशाख ६ गतेको कलश यात्राका लागि निःशुल्क यातायातको प्रबन्ध पनि रहेको जानकारी दिँदै पुराणको उद्घाटन राप्रपा अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले गर्ने जानकारी दिए ।

प्रमुख वाचक तथा धार्मिक अनुष्ठान सेवा समाजका प्रचारक माधवशरण खनालका अनुसार समाजको पूर्व संकल्प अनुसार १०८ भागवत लगाउने कार्य अन्र्तगत ३४औं सार्वजनिक संगीतमय पुराणका रूपमा देउनिया चौकमा सो पुराण लगाइने भएको हो ।

प्रमुख वाचक खनालले मृत्युवरण सबैको हुने हुँदा घाट निर्माणमा हात खोलेर सहयोग गर्न सवै भक्तजनसित आग्रह समेत गरेका छन् ।

सम्बन्धित खबर