२०८२ वैशाख ७, आइतवार , १२:१६:५० बजे

Sajhamanch
'

मेचीनगरमा सहकारी अनुगमन, सुधारका लागि सुझाव दिइयो

बिहिवार, वैशाख ४, २०८२

मेचीनगर । मेचीनगर नगरपालिकाले आज नगरभित्रका सात वटा सहकारी संस्थामा अनुगमन गरेको छ ।

मेचीनगरले गठन गरेको नगर सहकारी समन्वय समितिले बिहीबार नगर क्षेत्रभित्रका ७ वटा सहकारी संस्थामा अनुगमन गरेको हो ।

अनुगमन टोलीले मेचीनगर–१ को कृष्णथुम्की सहकारी संस्था, मेचीनगर–२ को बौद्धमोड कृषि सहकारी संस्था, प्रेरणा कृषि सहकारी संस्था र ब्रमाण्ड अपाङ्ग तथा महिला बचत तथा ऋण सहकारी संस्था, मेचीनगर–४ को पानस कृषि सहकारी संस्था र साना किसान कृषि सहकारी संस्था तथा मेचीनगर-५ स्थित नकलबन्दा बचत तथा ऋण सहकारी संस्थामा अनुगमन गरेको हो ।

सहकारी समन्वय समितिका सदस्य सचिव दिपेन्द्र कार्कीले अनुगमन गरिएका सहकारीहरुमा तमसुकमा ऋण कार्यविधिको दफा उल्लेख नभएको, ऋण समितिले गरेको निर्णय ऋणिको फायलमा राख्नु पर्ने, फायलमा स्वघोषणा अंशियारको सम्पति र ऋण स्वीकृती भएको पत्र राख्नु पर्ने, किपोमिस रिपोर्ट मासिक रुपमा बनाउनु पर्ने, सूचना पाटी देखिने गरी राख्नु पर्ने, साधारण सभा पुस मसान्तभित्र सम्पन्न गरिसक्नु पर्ने, सञ्चालक समितिले नियम अनुसार ऋण लगानी गर्नुपर्ने लगायतका सुझाव दिइएको बताए ।

अनुगमन टोलीमा सहकारी समन्वय समितिका सदस्य दुर्गाप्रसाद सापकोटा, वीपी भट्टराई, जगन भट्टराई र सदस्य सचिव कार्की सहभागी थिए । अनुगमनमा खटिएका समितिका सदस्य वीपी भट्टराईले अनुगमन गरिएका ७ वटै सहकारीमा केही समस्या देखिएकोले समाधानका लागि सुझावहरु दिइएको बताए ।

नगरपालिकाले सहकारी ऐन २०७५ अनुसार मेचीनगरमा सहकारी समन्वय समिति गठन गरेको छ । ९ सदस्यीय समितिको संयोजकमा नगरप्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना पोखरेल उप्रेती, सदस्य सचिव कार्की तथा सदस्यहरुमा नगरपालिकाका आर्थिक विकास समिति संयोजक तिलजा देवान, सहकारीकर्मीहरु दुर्गाप्रसाद सापकोटा, वीपी भट्टराई, जगन भट्टराई, ठाकुरप्रसाद शिवाकोटी र टिका सुवेदी सदस्य छन् ।