
मेचीनगर । मेचीनगर नगरपालिकाले मेचे समुदायको ‘बैशागु बथर’ पर्वमा सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
नगर कार्यपालिकाको गत चैत ३१ गतेको निर्णय अनुसार मेचे समुदायले बैशाख ३ गते मनाउने ‘बैशागु बथर’ पर्वमा सार्वजनिक विदा दिइएको हो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले मेचे समुदायको बैशाख ३ गते ‘बैशागु बथर’ पर्व परेकाले सार्वजनिक विदा दिने निर्णय गरिएको जानकारी दिएका हुन् ।
नगर कार्यपालिको कार्यालय र मातहत कार्यालय तथा नगर क्षेत्रभित्रका शिक्षण संस्थाहरुमा अत्यावश्यक सेवा बाहेक स्थानीय सार्वजनिक विदा हुने उनले बताए ।
चैत १९ गते मेचे समाज शिवियारी आफात मेचीनगरका अध्यक्ष देशभक्त मेचेको नेतृत्वमा गएको टोलीले नगरप्रमुख गोपालचन्द्र बुढाथोकीलाई ‘बैशागु बथर’ पर्वमा सार्वजनिक विदा दिइनुपर्ने मागसहित ज्ञापनपत्र बुझाएको थियो ।
नगरप्रमुख बुढाथोकीले नगरपालिका स्थापनापछि पहिलो पटक मेच समुदायलाई स्थानीय सार्वजनिक विदा दिइएको बताए ।
मेचे समुदायको राष्ट्रिय पर्व ‘बैशागु बथर’ बैशाख महिनाभर मनाउने गरिएको छ । नयाँ वर्षलाई स्वागतसँगै मेचे समुदायको पहिरनमा बाजा गाजासहित विभिन्न परिकारको खानपिन गरेर नाचगान गर्ने चलन रहेको छ ।
मेचे जाति लोपन्मुख तथा सिमान्तकृत समुदायमा पर्दछ । २०७८ को जनगणना अनुसार मेचे समुदायको जनसंख्या देशभर पाँच हजार १९३ जना रहेका छन् ।
भोलि मेचे समाज शिवियारी आफातको केन्द्रीय समितिले धाइजनमा कार्यक्रम गर्दैछ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेको प्रमुख आतिथ्य र भारतको आसाम राज्य विधान सभाका सभामुख विश्वजित दैमारीको विशिष्ट आतिथ्यता रहने समितिका केन्द्रीय सदस्य अमर मेचेले बताए ।
उनले नगरपालिकाले मेचे समुदायको महान पर्वमा सार्वजनिक विदा दिएकोमा खुशी व्यक्त गर्दै धन्यवाद दिएका छन् ।