
बिर्तामोड । बिर्तामोडमा आयोजित प्रथम वडास्तरीय ९० प्लस व्याडमिन्टन प्रतियोगिताको उपाधि राम अवतार घिमिरे र कृष्ण खड्काको जोडीले जितेको छ ।
वडा खेलकुद विकास समिति बिर्तामोड १ द्वारा शनिबारदेखि सञ्चालित प्रतियोगिताको आज आइतबार भएको फाइनल खेलमा घिमिरे र खड्काको जोडीले राजेश उप्रेती र संगम भक्तराजको जोडीलाई हराउँदै विजेता बनेको हो । यस्तै राजु घिमिरे र मदन खड्काको जोडी तेश्रो बनेको छ ।
उपाधि विजेताले नगद २० हजार रुपैयाँसहित मेडल, ट्रफी तथा प्रमाणपत्र प्राप्त गरे । यस्तै उपविजेता बनेका उप्रेती र भक्तराजको जोडीले नगद १० हजार रुपैयाँ र तेस्रो घिमिरे र खड्काको जोडीले ५ हजार रुपैयाँसहित मेडल, ट्रफी तथा प्रमाण पत्र प्राप्त गरेका छन् ।
विजेताहरुलाई कार्यक्रमका प्रमुख अतिथि बिर्तामोड नगरपालिकाका नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला र विशेष अतिथि वडा नम्बर १ का वडाअध्यक्ष अग्निप्रसाद पाण्डेले पुरस्कार हस्तान्तरण गरेका थिए । प्रतियोगितामा १० वटा टिमले प्रतिस्पर्धा गरेका थिए ।
सोही कार्यक्रमका बीच मेहरमान बहुउदेश्यीय कवर्ड हलका अध्यक्ष दिलेन्द्र कार्की, मेहरमान प्रतिष्ठानका अध्यक्ष शंकर खड्कालाई सम्मानपत्र प्रदान गरिएको आयोजक समितिका अध्यक्ष केशब पोख्रेलले जानकारी दिए ।