
काठमाडौं । पर्साको वीरगन्जमा देखिएको तनाव व्यवस्थापन गर्न राजनीतिक दलको सर्वदलीय बैठक बोलाइएको छ । जिल्लामा उपलब्ध दलका नेताहरू बैठकमा सहभागी हुनेछन् ।सर्वदलीय बैठकले कर्फ्यु मध्याह्न १२ बजेपछि हटाउने अथवा थप्ने निर्णय गर्नेछ ।
“दलको सर्वदलीय बैठक र सुरक्षा समितिको बैठक बोलाएको छु,” पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले भने, “सर्वदलीय बैठक र सुरक्षा समितिको बैठक बसेर कर्फ्युलाई निरन्तरता दिने अथवा हटाउने निर्णय गर्नेछौँ ।”
अहिले अवस्था सामान्य रहेको उनले बताए । हनुमान जन्मोत्सवका अवसरमा शनिबार वीरगन्जमा निकालिएको शोभायात्रामा कसैले ढुंगा हानेपछि दुईपक्षबीच झडप भएको थियो ।झडपले वीरगन्ज क्षेत्र तनावग्रस्त बनेपछि जिल्ला प्रशासन कार्यालयले आइतबार मध्याह्न १२ बजेसम्म लागु हुने गरी कर्फ्यु आदेश जारी गरेको छ ।
स्थिति नियन्त्रणमा लिन प्रहरीले पानीको फोहोरा, अश्रुग्यास प्रहार र हवाईफायर समेत गरेको थियो ।झडपमा ३७ जना घाइते भएका थिए । “प्रहरीतर्फ २५ र १२ सर्वसाधारण घाइते हुनुभएको थियो,” प्रमुख जिल्ला अधिकारी अर्यालले भने, “प्रहरीतर्फ एसपी गौतम मिश्रसहित २५ जना घाइते हुनुभएको थियो । घाइते सबैको अवस्था सामान्य छ ।”
एसपी मिश्र उपचारपछि काममा फर्किसकेका छन् ।