
खोटाङ । चट्याङका कारण दिप्रुङ चुइचुम्मा गाउँपालिका-६ छितापोखरीका दुई महिला गम्भीर घाइते भएका छन्। बिहीबार वर्षासँगै परेको चट्याङका कारण छितापोखरीका कृष्णमाया खड्का र देविका भुजेल गम्भीर घाइते भएका हुन् ।छितापोखरीकी कृष्णमायाको घर माथि र देविकाको केही तल पर्छ । कृष्णमाया घरभित्र भान्छाको काम गरिरहेको बेला चट्याङ परेको हो। चट्याङको असरका कारण कृष्णमाया बेहोश भएको आफन्तले बताएका छन् ।
स्थानीयका अनुसार चट्याङ परेको बेला कृष्णमायाको घरभित्र आगोको ज्वाला पसेजस्तो देखिएको थियो । चट्याङ परेको केही समयपछि घरभित्र गएर हेर्दा कृष्णमायालाई बेहोस अवस्थामा भेटिएको बताइएको छ ।देविकाको भने अत्तालिएर ठोक्किन पुग्दा टाउकोमा गहिरो चोट लागेको दिप्रुङ चुइचुम्मा गाउँपालिका प्रवक्ता भूपेन्द्र बस्नेतले जानकारी दिए। घाइते बनेका दुवै महिलोको वडा नं २ डाँडागाउँस्थित आधारभूत अस्पताल ओख्रेमा उपचार भइरहेको छ। देविकाको टाउकोमा पाँच टाँका लगाइएको छ।