
बिर्तामोड । बिर्तामोडमा प्रथम वडास्तरीय ९० प्लस व्याडमिन्टन प्रतियोगिता हुने भएको छ । वडा खेलकुद विकास समिति बिर्तामोड १ को आयोजनामा चैत्र ३० र ३१ गते प्रतियोगिता हुन लागेको हो ।
वडा नम्बर १ को कार्यालयमा आज पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजक समितिका अध्यक्ष केशब पोख्रेलले विश्वभर व्याडमिन्टन खेलको क्रेज बढ्दै गएकोले बिर्तामोडमा प्रथम वडास्तरीय प्रतियोगिताको आयोजना गरिएको बताए ।
प्रतियोगितामा बिर्तामोडका १० वटै वडाबाट खेलाडी सहभागी हुने उनले जानकारी दिएका छन् ।
प्रतियोगितामा सहभागी हुने २ जना खेलाडीको उमेर जोड्दा ९० अनिवार्य हुनुपर्ने छ । अन्यथा सहभागी हुन पाइने छैन ।
प्रतियोगिता वडा नम्बर ३ स्थित मेहरमान प्रतिष्ठानको कभर्डहलमा बिहान ८ बजेदेखि हुनेछ । प्रतियोगिताको पहिलो, दोश्रो र तेश्रोले क्रमशः नगद २०, १० र ५ हजारसहित मेडल तथा ट्रफी प्राप्त गर्नेछन् ।