२०८१ चैत २५, सोमवार , ०१:२३:३० बजे

Sajhamanch
'

अब एनएमसी ब्राण्डमा तोरीको तेल उत्पादन गरिँदै

सोमवार, चैत २५, २०८१

मेचीनगर । देशकै अग्रणी सहकारी संस्थाको रुपमा परिचित नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी)ले चैत २४ गतेदेखि तोरीको तेल मिल सञ्चालनमा ल्याएको छ ।

बहुउद्देश्यीय प्रकृतिको सहकारी संस्था भएकाले बहुव्यवसाय प्रवेश गरेको एनएमसीले यसअघि डेरी उद्योग, एग्रो फार्म, सहकारी पसल, चिया उद्योग तथा प्याकेजिङ उद्योग सञ्चालन गर्दै आएको छ ।

एनएमसीले व्यवसाय विस्तारका सिलशिलामा मेचीनगर १४, दुहागढीस्थित एग्रो फार्ममा सञ्चालन गर्ने गरी तोरीको तेल मिल सञ्चालनमा ल्याएको व्यवसाय प्रमुख चेतन पौडेलले बताएका छन् ।

आफ्ना सदस्य किसानबाट खरिद गरिएको तोरीको दानालाई आधुनिक उपकरणबाट प्रशोधन गरी शुद्ध तोरीको तेल बजारमा ल्याउने उद्देश्यले एनएमसीले रामनवमीको अवसर पारेर तोरीको तेल मिलको शुभारम्भ गरेको हो ।

उक्त मिलको एक कार्यक्रमकाबीच मेचीनगर नगरपालिकाका नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले औपचारिक उद्घाटन गरेका हुन् । मिलको ‘मेन स्वीच’ थिच्दै नगरप्रमुख बुढाथोकीले औपचारिक उद्घाटन गरे ।

उद्घाटन पश्चात बोल्दै नगरप्रमुख बुढाथोकीले पछिल्लो समय बजारमा शुद्ध तोरीको तेल आउन छोडेको र बजारमा पाइने तेलले आम उपभोक्ताको स्वास्थ्यमा हानी पुर्याइरहेको सुनाए ।

मानव स्वास्थ्यका लागि सचेत भएर स्थानीय उत्पादनलाई स्वास्थ्यबर्धक तोरीको तेल सहज उपलब्ध गराउने एनएमसीको प्रयास प्रशंसायोग्य कार्य रहेको उनको भनाइ थियो ।

कार्यक्रममा मिल स्थापनाको उद्देश्य र संस्थाको अन्य गतिविधिका बारे जानकारी दिँदै संस्थापक अध्यक्ष रामचन्द्र उप्रेतीले संस्थाले अघि बढाइरहेको योजनामा अर्को नविन योजना थपिएको बताए ।

संस्थापक अध्यक्ष उप्रेती तोरीको दानालाई मिलमा विशेष प्रशोधन गरी शुद्ध तोरीको तेल उत्पादन गर्न सहज हुने जनाए । उनले पछिल्लो समय बजारमा शुद्ध तोरीको तेल आउन छोडेको र बजारमा पाइने तेलले आम उपभोक्ताको स्वास्थ्यमा हानी पुर्याइरहेको परिस्थितिलाई चिर्दै शुद्ध तोरीको तेल बजारमा पुर्याउने संस्थाको उद्देश्य रहेको बताए ।

२०५० सालमा स्थापना भएको संस्थाले वि. सं. २०७२ सालसम्म बचत तथा ऋणको मात्र कारोबार गर्दै आएकोमा २०७२ सालदेखि बहुव्यवसायको अवधारणा अघि बढाएको हो ।

संस्थाका अध्यक्ष ठाकुरप्रसाद सिवाकोटीले दुग्ध किसानहरुलाई आर्थिक टेवा पुर्याउने उद्देश्यले २०७२ सालदेखि इँटाभट्टामा डेरी उद्योग सञ्चालन गरिएको बताए । संस्थाको प्रकृति बहुउद्देश्यीय भएकाले एनएमसीले क्रमशः एग्रो फार्म, सहकारी पसल तथा चिया उद्योग सञ्चालन गरिरहेको बताउँदै अध्यक्ष शिवाकोटीले सहकारी पसलको सपोर्ट विजनेशका रुपमा प्याकेजिङ उद्योग पनि सुरु गरिएको बताए ।

झापा, इलाम र मोरङ जिल्लामा कार्यक्षेत्र रहेको संस्थाले आफ्नो एग्रो फार्म मार्फत तोरीको तेल प्रशोधन गरी बजारमा ल्याउने फार्म व्यवसाय प्रमुख चेतन शर्माले जानकारी दिए ।

झापा र मोरङ जिल्ला तोरी उत्पादनका दृष्टिले उर्वर भूमि मानिन्छ । उनले भने, शुद्ध तोरीको तेलको सट्टा भारतीय गुणस्तरहिन तेल उपभोग गर्न बाध्य सदस्य एवम् जिल्लाबासीका लागि एनएमसी आफैँले शुद्ध तोरीको तेल उत्पादनमा अगाडि बढेको हो ।

सम्बन्धित खबर