२०८२ वैशाख ८, सोमवार , ०४:१६:१४ बजे

Sajhamanch
'

व्यवसायीहरुलाई पलायन हुनबाट रोक्न सरकारले विशेष पहल गर्नुपर्छ : प्रदेश अध्यक्ष राउत

शनिवार, चैत २३, २०८१

बिर्तामोड । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले अर्थतन्त्र धरासायी बन्दै गएको बेला व्यवसायीहरुलाई पलायन हुनबाट रोक्न सरकारले विशेष पहल गर्नु पर्ने बताएका छन् ।

बिर्तामोड उद्योग वाणिज्य संघको शनिबार आयोजित सातौं वार्षिक साधारण सभाको उद्घाटन गर्दै अध्यक्ष राउतले सरकारले विभिन्न कार्यक्रम र योजनाहरू ल्याउनुपर्ने बताउँदै व्यसायीलाई प्रोत्साहित गरेमात्रै देशको अर्थतन्त्र बलियो हुने धारणा राखेका छन् ।

कोभिडपछि समग्र देशको अर्थतन्त्र खस्किएको र त्यसमाथि व्यवसायीहरु पलायनको अवस्थामा पुगेकाले उनीहरुलाई राज्यले संरक्षण गर्नुपर्ने राउतको भनाई छ । उनले व्यवसायीहरू पनि कानुनको दायरामा रहेर समयमै करचुक्ता गर्दै राज्यको सेवा सुविधा उपभोग गर्न आग्रह गरेका छन् ।

संघका अध्यक्ष राजु न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष राजकुमार घिमिरे ‘राजु’ले शाब्दिक स्वागत गरेका थिए । अध्यक्ष न्यौपानेले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संघका २३ वटा भावी योजनाहरू प्रस्तुत गरेका छन् ।

कार्यक्रममा संघले गत माघमा लगाएको बिर्तामोड औद्योगिक व्यापार महोत्सवको मुख्य प्रायोजक एपोलो पेन्ट्सलाई यसको बिर्तामोडस्थित आधिकारिक बिक्रेता एपोलो कलर हाउसका सञ्चालक डिल्लीराम कोइरालामार्फत सम्मान गरिएको थियो ।

सोही कार्यक्रममा अग्रज व्यवसायी गणेश मादेनलाई नगद ११ हजार, सम्मान पत्र, दोसल्लाबाट सम्मान गरिएको थियो । कार्यक्रममा सम्मानित ब्यक्तित्व मादेनले आफूले प्राप्त गरेको नगद ११ हजार बिर्तामोड उद्योग वाणिज्य संघले स्थापना गरेको व्यवसायिक राहत कोषमा हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य नविन रिजाल, नरेन्द्र खड्का, बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारी, दमक उद्योग बाणिज्य संघका अध्यक्ष गोपाल गुरागाईले मन्तब्य राखेका थिए ।

संघका महासचिव कुशल खतिवडाले सञ्चालन गरेको सो साधारण सभामा संघका पूर्व अध्यक्ष कुमार भट्टराई, झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रशान्त भण्डारी, नेकपा एमाले बिर्तामोड नगर अध्यक्ष सुवास भट्टराई, महिला सुरक्षा दवाव समूहका अध्यक्ष शारदा ढकाल रिजालले शुभकामनासहित मन्तव्य व्यक्त गरेका थिए ।

सम्बन्धित खबर