
काठमाडौं । अभिनेता राजेश हमालले ८ वर्षपछि फिल्ममा पुनरागमन गर्न लागेको फिल्म ‘नरसिंहा अवतार’को नयाँ प्रदर्शन मिति तय भएको छ । यसअघि नयाँवर्षको छेकोमा आउने भनिएको फिल्म अब आगामी जेठ ९ गते रिलिज हुनेछ ।
सोमबार पत्रकार सम्मेलन गर्दै निर्माताले नयाँ रिलिज डेट तय गरेका हुन् । प्रदर्शन मितिसहित हमाल र अर्का अभिनेता राज कटुवालको क्यारेक्टर लुक्ससहितको पोस्टर सार्वजनिक गरिएको छ ।दुवैजनालाई पोस्टरमा एक्सन अवतारमा देख्न सकिन्छ । बदला र सामाजिक कथावस्तुमा निर्माण भएको यो फिल्मबाट हमालले लामो समयपछि कमब्याक गर्न लागेका हुन् । आफ्ना प्रिय कलाकार पर्दामा फर्किने भएपछि प्रशंसक उत्साहित छन् ।हमालले पछिल्लोपटक फिल्म ‘जस्ट फर यू’मा अभिनय गरेका थिए । उनले करिअरमा २३० फिल्ममा अभिनय गरेका छन् । ३ दशकपछि यो फिल्ममा सरोज खनालसँग हमालले स्क्रिन सेयर गरेका छन् ।
फिल्ममा हमाल र कटुवालसहित नीति शाह, सनिशा भट्टराई, अर्जुन श्रेष्ठ, दीपा शाही, प्रशान्त ताम्राकार, नीर शाह, रमेश चन्द सोडारी, प्रकाश कुँवरले अभिनय गरेका छन् ।फिल्मलाई दिवाकर भट्टराईले निर्देशन गरेका हुन् । क्रिएटिभ सिने आर्ट ब्यानरमा निर्माण भएको फिल्मलाई नरेन्द्र महर्जनसँगै ध्रुव न्यौपाने र दीपक ढकालले निर्माण गरेका हुन् ।