२०८१ चैत १७, आइतवार , ०२:४६:०३ बजे

Sajhamanch
'

तर्सिनु पर्दैन, टुकीयुग फर्किंदैन !

बिहिवार, चैत १४, २०८१
  • प्रेम गिरी

हाम्रो देशमा १०० वर्षको रैतियुगमा बिजुली १०६ मेगावाटमात्र उत्पादन भयो। लोकतन्त्रपछि उत्पादन ह्वात्तै बढेको छ। केपी, पुष्पकमल, शेरबहादुर लगायतका नेताहरु नेतृत्वमा हुँदा बिजुलीको विकासमा ध्यान दिनु भएकोमा साधुवाद छ।

तत्कालिन प्रधानमन्त्री छँदा केपी ओलीले २ वर्षभित्र लोडसेडिङ अन्त्य गर्ने बाचा गर्नुभयो । म गाउँमा बिजुली बाल्ने कामको नेतृत्वकर्ताको नाताले बिजुली विषय केही बुझेको थिएँ । प्रमज्युको बाचाप्रति खुल्दुली लाग्यो। काठमाडौंमा पार्टी नेतृत्वलाई रिपोर्ट गरें र पार्टीले आन्तरिक बैठक, विज्ञसँग परामर्श लगातार गर्‍यो। प्रधानमन्त्री केपी ओली भारत भ्रमणमा जानुहुँदा ट्रान्समिशन लाइन र विद्युत खरीद बिक्री सम्झौता भयो। भारतबाट बिजुली खरिद गरियो र करीव २ वर्षपछि घरायसी प्रयोगमा लोडसेडिङ अन्त्य भयो ।

अहिले हाम्रो उत्पादनले बिजुलीको घरायसी माग थेग्नसक्ने अवस्था छ। लोकतान्त्रिक नेतृत्वले यो काम गरेको छ। आजको जमाना भने पपुलिजमको छ, सेलिब्रेटीको छ, कुरो गफाडीको बिक्छ, प्रशंसा कस्मेटिक्सको गरिन्छ।

काठमाडौंमा लोकतान्त्रिक ब्यवस्थाले सडक बनायो, बालेनले रङ लगाए। लोकतान्त्रिक नेतृत्वले पूल बनायो, बालेनले पूलको छेउमा गमलामा फूल लगाए । संघीय सरकारको बाटो र पूलको सट्टा बालेनको रङ र गमलामा हाम्रो कष्मेटिक आँखाले बालेन सिटी देखिदिन्छ। अहिले बालेनको रङ उडेको छ, फूल सुकेको छ, तर संघीय सरकारले बनाएको बाटो र पूल त छँदैछ । कठै पपुलिजम ! हाम्रो समाजमा चलन छ बाले जुटाउने, आमाले बाँड्ने, छोराछोरी आमासँग कृतज्ञ हुने । सेलिब्रेटी र पपुलिजमको यो मेहेरो लामो टिक्दैन।

अहिले बालेनहरु, रविहरु, कुलमानहरु यस्तै सेलिब्रेटी नायक हुन्। कुलमान कुशल प्राविधिक हुन्, असल प्रशासक होइनन्। आत्मविश्वासका साथ भन्छु उनी असल होइनन्, समयले लुकेको उघार्नेछ।

प्रशासकहरु नियम नीतिमा चल्छन्, निर्णयमा चल्छन्, ब्यवस्थापकीय नेतृत्व दिन्छन्, जान्छन् ,आउँछन् । कुलमानजी पनि त्यस्तै प्रशासक र कर्मचारी हो, तलबभत्ता खाएको छ, सेवा सुविधा पाएको छ, नेतृत्वले जुटाइ दिएको वितरण गरेको न छ। अर्वौं आर्जन गरेको छ । प्राधिकरण भित्र भ्रष्टाचार बढाएको छ, अपारदर्शिता सीमा बाहिर छ, आफ्ना कर्मचारीलाई पनि सन्तुष्ट राखेको छैन, एउटा पार्टीको दानवीर बनेको छ। के उनी नीति निर्णयमा बस्नु पर्दैन र !?

यी मानका समर्पणमा टुकी, मेन्टोल, लाल्टिन, लाइट बोकेर माओवाद हिंड्नु हुँदैनथ्यो। क. प्रचण्ड निस्किसक्नुभो, केही वात छैन। आफू समेतको पौरखले आर्जित लोकतन्त्रको कर्मले पाएको उज्यालो युगलाई गिज्याउने काम स्यानो स्वार्थका लागि, केपी ओलीको विरोधका लागि, सहायताको स्रोतका लागि, बुझीकन नबुझे झैं गरेर सडकमा आउनु भएको छ ।

बिन्ती छ प्रचण्ड कमरेड, टुकी बोकाउनु पर्दैन, हामीलाई थाहा छ त यो प्रधानमन्त्री केपीको बिरोधको बहाना हो । केपीप्रति तपाइँको रिस हो, आहरिश हो, आक्रोश हो, आवेग हो । त्यो हिजै देखिको होे, आजको पनि हो, भोलि पनि हो । प्रचण्डको यो कर्म उहाँको जिन्दगी बन्ला, जीवन बन्ला तर बहानाले सत्य लुक्दैन, तथ्य छुप्दैन कि कुनै ….. मानको प्रतापले उज्यालो नेपाल बनेको होइन, कुनै कुल…..को श्रापले टुकीयुग फर्कंदैन । यही शुभकामना छ।

(सम्पादकलाई मन परेर लेखक गिरीको फेसबुकबाट साभार गरिएको)

सम्बन्धित खबर