
काठमाडौं । आनीछोइङ डोल्माको बहुचर्चित गीत ‘फूलको आँखामा फूलै संसार’ अब हिन्दी भाषामा पनि बन्ने भएको छ । यो गीतलाई प्रसिद्ध भारतीय गीतकार गुलजारले हिन्दीमा अनुवाद गरेका छन् ।
अनलाइनखबरसँग कुरा गर्दै आनीले चाँडै यो गीतको रेकर्ड हिन्दीमा हुने बताइन् । गीतको नेपाली संस्करणमा चाहिँ दुर्गालाल श्रेष्ठको शब्द, न्यूह बज्राचार्यको संगीत, गोपाल रसाइलीको एरेन्ज र आनीको स्वर छ ।हिन्दीमा आनीले गाउने भएपनि संगीत कम्पोज कसले गर्ने भन्ने निधो भैसकेको छैन । ‘न्यूहजीकै संगीतमा कम्पोज गर्ने कि नयाँ कम्पोजर लिने भन्ने कुरा निधो भैसकेको छैन’ आनीले भनिन् ।
उनले हिन्दी संस्करणको गीत चाँडै रेकर्ड हुने बताइन् । मुम्बईमा आयोजित कन्सर्टमा आनीको भेट गुलजारसँग भएको थियो । कोभिडको त्यो समयमा आनीले गुलजारलाई गीत दिएकी थिइन् । पछिल्लोपटक मुम्बईमा जाँदा गुलजारसँग आनी र फिल्ममेकर मीनबहादुर भाम लगायतको भेट भएको थियो ।‘यो गीतले जसरी लोकप्रियता कमायो । एकदमै सरल र सबैले बुझ्ने भाषामा गीतकारले मिठास भरेर लेखिदिनुभयो । नेपाली नबुझ्नेले पनि गीतलाई मन पराउनुभएको छ’ आनीले भनिन्, ‘नेपालीभाषीले गीत बुझेर आनन्द लिनुभयो । भारत हाम्रो छिमेकी राष्ट्र हो । जनसंख्या ठूलो छ । जसरी नेपालीभाषीले बुझेर आनन्द लिनुभयो । छिमेकीले पनि बुझेर आनन्द लिऊन् भन्ने मेरो उद्देश्य हो ।’
गुल्जारको लेखनले गीतलाई न्याय हुने आशासहित आफूले अनुवादको जिम्मा दिएको आनीको भनाइ छ । ‘गीतको भाव र गहनतालाई हल्कारुपमा लिनु हुँदैन । गुलजार साबको जुन लेखन छ, उहाँको कलमले कोरिदिनुभयो भने न्याय होला भनेर लेख्न दिएकी हुँ’ उनले भनिन् ।
‘फूलको आँखामा..’ गीत सन् २००४ मा रिलिज भएको आनीको एल्बम ‘मोमेन्ट्स अफ ब्लिस’मा संग्रहित छ । डिजिटल रिलिज भने मे २३, २०२० मा भएको थियो ।