
काठमाडौं । पछिल्लो साता युट्युबको नेपाल ट्रेन्डिङको संगीत खण्डमा विभिन्न शैली र जनराका गीतको उपस्थिति देखिएको छ । गतसाता रिलिज भएको समिक्षा अधिकारीको गीत ‘पान बुट्टे रुमाल’ ट्रेन्डिङको शीर्ष स्थानमा छ ।
समीक्षाको आवाजमा सजिएको गीतमा राजनराज सिवाकोटीको शब्द र संगीत छ । भिडियोमा समीक्षा र अनुभव रेग्मीको अभिनय देख्न सकिन्छ । समाचार तयार पार्दासम्म गीतलाई ८ लाखभन्दा धेरैपटक हेरिएको छ ।चैत २२ गतेदेखि रिलिज हुने आउने तयारीमा रहेको फिल्म ‘वसन्त’को गीत ‘बिना स्वादैको’ ट्रेन्डिङको दोस्रो स्थानमा छ । ३ साता अघि रिलिज भएको देवेन्द्र बब्लुको स्वर रहेको गीतलाई १२ लाखभन्दा धेरैपटक हेरिएको छ । यो गीतमा शब्द र संगीत गायक तथा निर्देशक प्रकाश सपुत र बब्लुको छ ।
उर्गेन दोङ्ग र हुक्केको संयुक्तमा रहेको गीत ‘लोभी नजर’ तेस्रो स्थानमा छ । एक महिनाअघि हुक्के अफिसियल युट्युब च्यानलमा रिलिज भएको गीतमा उर्गेन दोङ्गको शब्द र संगीत छ । दीपिका बयाम्बुले स्वरमा साथ दिएकी छन् । गीतलाई ३० लाखभन्दा धेरैपटक हेरिएको छ ।चौंथो स्थानमा भारतीय र्यापर हनुमान काइन्डको गीत ‘रन इट अप’ छ । पाँचौं स्थानमा गायक सुनिल गिरीको ‘ए कान्छी’ छ । सुनिलको शब्द र हिमाल घर्ती मगरको संगीत रहेको गीतलाई ७ लाखभन्दा बढी पटक हेरिएको छ ।
मिस्टर डीको नयाँ गीत ‘आगो लाग्यो’ ट्रेन्डिङको छैटौं स्थानमा छ । मिस्टर डीसँगै आवाजमा सदीक्षा कट्टेलले पनि साथ दिएकी छन् । १३ दिन अघि रिलिज भएको गीतलाई अहिलेसम्म ७ लाखभन्दा बढीपटक हेरिएको छ ।
डिगी रेकड्र्सले सार्वजनिक गरेको जेम्सीको गीत ‘रौसि लाग्यो’ ट्रेन्डिङको सातौं स्थानमा छ । जेम्सीको यो गीत सामाजिक संजालमा पनि भाइरल छ । ११ दिन अघि रिलिज भएको गीतलाई अहिलेसम्म ३ लाख भन्दा धेरै पटक हेरिएको छ ।
आठौं स्थानमा भारतीय र्यापर यो यो हनि सिंहको गीत ‘म्यानियाक’ छ । नेपालमा पनि उनको ठूलो प्रशंसक समूह रहेको कारण यो गीत चर्चित छ । एक महिनाअघि टि–सिरिजले सार्वजनिक गरेको गीतलाई ११ करोडभन्दा बढी पटक हेरिएको छ ।
नवौं स्थानमा योङ्ग ववेको ‘हुड लाइफ’ छ, जसलाई ३ लाखभन्दा बढी पटक हेरिएको छ । दशौं स्थानमा केदार लिम्बुको ‘सरर सरर’ छ । नेपाली संगीतले नेपालमा मात्र नभई विदेशमा पनि लोकप्रियता कमाइरहेको छ । उर्गेन दोङ्ग र हुक्केको ‘लोभी नजर’ कतारको युट्युब ट्रेन्डिङको संगीत खण्डमा २३औं स्थानमा छ भने देवेन्द्र बब्लुको ‘बिना स्वादैको’ २५औं स्थानमा छ ।दुर्गेश थापाको ‘दुश्मन हेरेको हेर्यै’ले केही दिनअघि ग्लोबल ट्रेन्डिङको ७७ औं स्थानमा डेब्यु गरेको थियो । अहिले यो गीत ग्लोबल ट्रेन्डिङको ६९औं स्थानमा उक्लिएको छ । यो गीतमा समीक्षा अधिकारीको पनि स्वर छ । संयोग नै मान्नुपर्छ, नेपाल र ग्लोबल ट्रेन्डिङमा समीक्षाका दुई गीत यतिबेला ट्रेन्डिङमा छन् ।