२०८१ चैत १०, आइतवार , ०८:३५:११ बजे

Sajhamanch
'

बुद्धशान्ति प्रेस क्लबको वार्षिक साधारण सभा सम्पन्न

शनिवार, चैत ९, २०८१

बुद्धशान्ति । बुद्धशान्ति गाउँपालिकाको भूगोलमा बसोबास गर्ने तथा मिडिया हाउस सञ्चालन गर्ने पत्रकारहरुको छाता संस्थाका रुपमा रहेको बुद्धशान्ति प्रेस क्लबको चौथो वार्षिक साधारण सभा एवम् स्थापना दिवस आज मनाइएको छ ।

प्रेस क्लबका अध्यक्ष तीर्थराज तिम्सिनाको अध्यक्षता तथा नेपाल पत्रकार महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरीको प्रमुख आतिथ्यमा साधारण सभा एवम् स्थापना दिवस मनाइएको हो ।

सभाको उद्घाटन पश्चात बोल्दै अध्यक्ष गिरीले प्रविधिको विकाससँगै पत्रकारिता क्षेत्रमा दिनानुदिन चुनौतीहरु थपिँदै गएकाले सञ्चारकर्मीहरुले ती चुनौतीलाई सामना गर्न प्रविधिको प्रयोग बढाउनु पर्नेमा जोड दिएका छन् ।

उनले स्थानीय सञ्चारमाध्यमलाई टिकाउन स्थानीय निकायको प्रमुख दायित्व रहेकोले स्थानीय निकायले स्थानीय सञ्चारकर्मी र मिडियाका लागि आवश्यक बजेट विनियोजन गर्न आग्रहसमेत गरेका थिए ।

महासंघका अध्यक्ष गिरीले आउँदा दिनमा महासंघले स्थानीय प्रेस क्लबहरुसँग सहकार्य गरेर आवश्यकता अनुसारको तालिम समेत आयोजना गर्ने बताए ।

सभामा संस्थाका संस्थापक अध्यक्ष एवम् बुद्धशान्ति १ का वडा अध्यक्ष अनिल वाग्लेले आफू पनि पहिले सञ्चारकर्मी भएकाले सञ्चारकर्मीको समस्याबारे राम्ररी बुझेको बताउँदै आगामी दिनमा वडाबाट पनि पत्रकारका लागि व्यक्तिगत विकास साथै तालिम र संस्थागत विकासका लागि सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए ।

वडाध्यक्ष वाग्लेले प्रेस क्लबको अक्षयकोष स्थापनार्थ वडा कार्यालयबाट ११ हजार १११ रुपैँया सहयोग गर्ने जानकारी दिए ।

अर्का वक्ता वडा नं ४ का वडाध्यक्ष शेरबहादुर रायले संस्था स्थापना दिवसको शुभकामना दिँदै हालसम्म पनि स्थानीय सञ्चारकर्मीसँग सहकार्य गरेरै वडाले कार्यक्रम गरिरहेको र आगामी दिनमा पनि आवश्यक बजेट विनियोजन गरेरै सहकार्य गर्ने बताए ।

उनले पत्रकारहरुले राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रै देखिने गरी निष्पक्ष रुपमा कलम चलाउन आग्रह पनि गरे ।

स्थापना दिवसकै अवसर पारेर बिगत तीन दशकदेखि पत्रपत्रिका वितरणसँगै विभिन्न पत्रपत्रिकामा सम्वाददाताका रुपमा काम गर्दै आएका बुधबारे निवासी हरि घिमिरेलाई सम्मान गरिएको थियो । उनलाई सम्मान पत्र साथै अविर, खदाले सम्मान गरिएको थियो ।

संस्थाका अध्यक्ष तिम्सिनाले सांगठनिक प्रतिवेदन प्रस्तुत गर्दै आगामी आर्थिक वर्ष भित्रमा बुद्धशान्तिका सबै पत्रकारहरुको दुर्घटना बीमा गर्ने, अक्षयकोष खडा गर्ने, कार्यसम्पादनका आधारमा मूल्यांकन गरी वार्षिक रुपमा पत्रकारिता पुरस्कार प्रदान गर्ने साथै पत्रकारहरुलाई क्षमता अभिवृद्धि गराउने किसिमका विभिन्न तालिम, उद्घोषण, व्यक्तित्व विकास तालिम जस्ता कार्यक्रम गर्ने बताए ।

संस्थाका कोषाध्यक्ष भारती राईले संस्थाको आर्थिक वर्ष २०८०/०८१ को आयव्यय प्रस्तुत गरेकी थिइन् ।

संस्थाका सचिव रोसन भट्टराईले सञ्चालन गरेको सभामा उपाध्यक्ष नारायण अर्यालले शाब्दिक स्वागत गरेका थिए । २०७६ सालमा स्थापना भएको क्लबमा स्थापनाकालमा १६ जना सदस्य रहेका थिए भने हाल २३ जना सदस्य रहेका छन् । जसमध्ये ४ जना वैदेशिक रोजगारीमा गएका छन् ।

सम्बन्धित खबर