
कमल । झापाको कमल गाउँपालिकामा सञ्चालन गरिएको अन्तर वडास्तरीय तेस्रो अध्यक्ष कप फुटबल प्रतियोगिताको शुक्रबार सम्पन्न फाइनल खेलमा वडा नम्बर ५ विजयी भएको छ ।
कमल गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा भएको प्रतियोगितामा वडा नम्बर ७ लाई शून्यका विरूद्ध २ गोल अन्तरले हराउँदै वडा नम्बर ५ विजयी भएको हो ।
केर्खा खेल मैदानमा सम्पन्न प्रतियोगितामा वडा नम्बर ५ बाट जर्सी नम्बर ६ का खेलाडी अनुप सिवाले पहिलो गोल र जर्सी नम्बर ८ का खेलाडी अशोक लिम्बूले थप १ गोल गरेर आफ्नो टिमको जित सुनिश्चित गराएका हुन् ।
फाइनल खेलको म्यान अफ द म्याच वडा नम्बरका ५ का जर्सी नम्बर ६ का खेलाडी अनुप सिवा घोषित भए र नगद पुरस्कारसहित ट्रफी प्राप्त गरे ।
“हाम्रो कमल, हाम्रो सान, खेलाडी उत्पादन गर्ने हाम्रो अभियान” भन्ने नाराका साथ सुरु भएको फुटबल प्रतियोगितामा विजयी टिम वडा नम्बर ५ ले ५० हजार रुपैयाँ पुरस्कारसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । उपविजयी वडा नम्बर ७ ले ३० हजार रुपैयाँ पुरस्कार, ट्रफी, मेडल र प्रमाण पत्रमा चित्त बुझायो ।
प्रतियोगिताबाट राइजिङ प्लेयर वडा नं. ३ का कविराज भट्टराई, वेष्ट गोल किप्पर वडा नं. ५ का उत्तम कार्की, वेष्ट डिफेन्स वडा नं. ७ का अर्पण ताजपुरिया र वेष्ट मिडफिल्डर वडा नं. ५ का सुजन लिम्बू घोषित भए ।
यस्तै वेष्ट फरवार्ड वडा नं. ५ का अनिश किस्कु, हाई स्कोरर वडा नं. ५ का साजन राई र सर्वाेकृष्ट खेलाडी वडा नं. ५ का अनुप सिवा भएर पुरस्कारसहित ट्रफी हात पारेका छन् ।